दमौली । राजनीतिज्ञ गोविन्दराज जोशी समूहले वैशाख ३० गते सम्पन्न निर्वाचनको समिक्षा गरेको छ । नेपाली काँग्रेस पूर्व सहमहामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशीको विशेष उपस्थितीमा समिक्षा गरिएको हो ।
वडा नम्बर १ देखि ८ सम्म मेयरका उम्मेदवार दीपकराज जोशीको बहुमत आएको र ९ देखि १४ सम्म षडयन्त्र गरी अकल्पनीय र अविश्वसनीय मत परिणाम आएको भन्दै अधिकांशले असहमत जनाएका थिए । जोशी समूहको उम्मेदवारको सदर मतलाई बदर गरिएको र सत्तापक्षको उम्मेदवारको बदरलाई सदर गरिएको उनीहरुकाे भनाई छ ।
सत्ताको दुरुपयोग गरी नियोजित रुपमा बदरलाई सदर र सदरलाई बदर गरि वडा नम्बर ९ देखि १४ सम्मको वडामा धाँधली गरी मतगणना गरिएको आराेप लगाइएकाे छ ।
२८ गते वृहत भेला
यसैबीच जाेशी समूहले जेठ २८ गते शनिबार दमौलीमा वृहत भेला गर्ने भएको छ । वृहत भेलालाई सफल बनाउन हरिशरण पण्डित संयोजक र अर्जुन गुरुङ सचिव तोकिएको छ । जोशी समूहलाई प्रभावकारी बनाउन निर्वाचनको लागि स्थापना गरिएको कार्यालय निरन्तर सञ्चालन गर्ने निर्णय गरिएकाे छ ।