दमाैली । व्यास नगरपालिका वडा नम्बर ५ का नवनिर्वाचित अध्यक्ष विष्णुकुमार श्रेष्ठले अन्तिम श्वास रहेसम्म जनताको सेवामा अग्रसर रहने बताएका छन् । अध्यक्ष श्रेष्ठले बिहीबार पदभार ग्रहण गर्दै शरीरमा श्वास रहेसम्म जनताकै सेवामा लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।
पार्टीभन्दा माथि मानवीय संवेदना हुने भएकाले मानवीय संवेदना बुझेर जनताको काम गर्ने बताउँदै श्रेष्ठले भने, “चुनावमा जुन पार्टीबाट उठेपनि अब साझा बनेर काम गर्छौ ।” आफू भाषणमा भन्दा काममा विश्वास गर्ने व्यक्ति भएकाले कामबाटै जनतालाई विश्वस्त पार्ने श्रेष्ठले बताए ।
पुनः निर्वाचित भएका दुई जना सदस्यको सल्लाहले आफूलाई काम गर्न सहज हुने श्रेष्ठले विश्वास व्यक्त गरे । कृषि, शिक्षा, पशुपालन क्षेत्रको विकासका लागि आफूले योजना सहित काम गर्ने श्रेष्ठले बताए । चुनावमा प्रस्तुत गरिएका घोषणापत्रलाई कार्यान्वयन गर्नेतर्फ आफूहरुको प्रयत्न हुने श्रेष्ठले बताए ।
निवर्तमान वडाध्यक्ष मोहनकुमार श्रेष्ठले विगत पाँच वर्षको अवधिमा सबै वडावासीको साथ र सहयोग पाएको बताउँदै वडावासीकै सहयोगका कारण काम गर्न सहज भएको बताए । आफ्नो नेतृत्वले गरेको कामको मूल्याङ्कन जनताले गर्ने बताउँदै श्रेष्ठले नवनिर्वाचित जनप्रतिनिधिलाई आवश्यक परेका बेला जुनसुकै सहयोग गर्न तयार रहेको बताए ।
नेकपा एमाले तनहुँका उपसचिव प्रदीपराज अधिकारी, नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सहसचिव अतिन्द्रकेशरी न्यौपानेले जनताको भावना बुझेर काम गर्न जनप्रतिनिधिलाई आग्रह गरे ।
वडा सचिव विश्व पाैडेलकाे अध्यक्षतामा आयाेजित कार्यक्रममा नवनिर्वाचित सदस्य सुन्दर वाग्ले, निवर्तमान वडा सदस्य सुरबहादुर थापा, कृष्णदेवी खनाल लगायतले बाेलेका थिए ।