दमौली । तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार इकाईको सक्रियतामा जडान गरिएका सिसि क्यामरा नचल्ने अवस्थामा पुगेका छन् । इकाईले बजारका विभिन्न क्षेत्रमा जडान गरेका ३५ क्यामरा मध्ये १३ वटा मात्रै चालु अवस्थामा छ ।
बजार क्षेत्रमा हुने आपराधिक घटना न्यूनीकरण र शान्ति सुरक्षा कायम गर्न उद्देश्यले जडान गरिएका क्यामरा नचल्ने अवस्थामा पुगेको जिल्ला प्रहरी कार्यालय तनहुँको सञ्चार शाखाले जनाएको छ । शाखाका अनुसार बजार क्षेत्रका विभिन्न ठाउँमा जडान गरिएका २२ वटा क्यामरा बिग्रिएको छ । सिसी क्यामरा निगरानीका लागि प्रहरी कार्यालयमा राखिएको एउटा मोनिटर पनि बिग्रिएको छ ।
सिसी क्यामरा बिग्रिएको लामो समयसम्म पनि मर्मतमा ध्यान नदिँदा यसको उपयोगितमाथि नै प्रश्न उठेको स्थानीयवासी बताउँछन् ।
हालैमात्र दमौलीको मुख्यचोकमा नक्कली सुनको प्रलोभन देखाएर एक महिलामाथि लुटपाट भयो । लुटपाटमा संलग्न गिरोहले महिलालाई ललाईफकाई गरी नक्कली सुनको ढिक्का देखाएर सक्कली सुन चोरी गरेको भाग्यो । भोर्लेटारचोकमा राखिएको सिसी क्यामरा नचल्दा प्रहरीले उक्त समूहलाई पक्राउ गर्न सकेको छैन ।
तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार इकाई सभापति भूपाल आलेले सिसी क्यामरा मर्मतका लागि व्यास नगरपालिकासँग आर्थिक सहयोगको माग गरिएको बताए । “सानोतिनो मर्मत खर्चले हुने काम हामीले नै गर्दै आएका छौ, धेरै रकम लाग्ने भएकाले इकाईसँग पैसा छैन, चुनाव अगाडी नगरपालिकालाई आर्थिक सहयोगको निवेदन दिएका थियौ,” उनले भने, “नगरपालिकाबाट अहिलेसम्म सम्बोधन भएको छैन ।”
इकाईको सक्रियतामा दमौलीस्थित भोर्लेटारचोक, सफासडक, अनसनचोक, नेकपा एमाले कार्यालय रहेको चोक, महर्षि चोक, व्यास–४ जलमन्दिर नजिक, सफासडक, ट्राफिकचोक, कालिका मार्ग, कारागार नजिक, मादी नदी र बुल्दी खोलाको पुल लगायतका स्थान सिसीक्यामरा जडान गरिएको थियो