चितुवाको आक्रमणबाट बन्दीपुरमा बालिका घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    चितुवाको आक्रमणबाट बन्दीपुरमा बालिका घाइते

    खबरपुञ्ज संवाददाता

    २७ जेष्ठ २०७९, शनिबार

    दमाैली । चितुवाको आक्रमणबाट तनहुँको बन्दीपुर गाउँपालिका–४ टावरमा शनिबार साँझ ८ः३० बजे एक बालिका घाइते भएकी छिन् । घाइते हुनेमा आठ वर्षीया रियाना थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    घाइते बालिकाको डुम्रेस्थित मोती मेडिकल कलेजमा उपचार भइरहेको छ । चितुवाको दुई वटा नङ्ग्राले बालिकाको घाँटीमा चिथोरेको मोती मेडिकल हलका सञ्चालक एवं बन्दीपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । घाइते बालिकाको अवस्था खतरामुक्त रहेको उनले बताए । मेडिकलका डा. महेश विक नेतृत्वमा बालिकाको उपचार गरिएको छ ।

    बुबाआमा बजारबाट घर जाँदै गर्दा आएको देखेर बालिका घरबाहिर निस्किएकी थिइन् । त्यही बेला चितुवाले आक्रमण गरेको हो । बुबाआमा दौडिएर आउने बित्तिकै चितुवा भागेको परिवारलाई उद्धृत गर्दै थापाले बताए ।

    पछिल्लो केही वर्ष यता जिल्लाका विभिन्न पालिकामा चितुवाको आतङ्क छ । सबैभन्दा बढी आतङ्क भानु नगरपालिकामा छ । चितुवाले बालबालिकामाथि बढी आक्रमण गर्ने भएकाले साँझको समयमा बालबालिकालाई घरबाहिर एक्लै नछाड्न डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।