मानवअधिकार वर्ष पुस्तकको अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मानवअधिकार वर्ष पुस्तकको अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न

    खबरपुञ्ज संवाददाता

    ६ असार २०७९, मंगलवार

    दमाैली । नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ को लागि सङ्कलित घटनाहरुको अर्धवार्षिक समीक्षा तथा जिल्लाको मानव अधिकारको अवस्थाको बारेमा अन्तरक्रिया कार्यक्रम मंगलबार दमौलीमा सम्पन्न भयो । वर्ष पुस्तकको लागि सङ्कलित घटनाहरुको बारेमा सरोकारवाला निकायको सुझाव सङ्कलन गर्ने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक भानु शर्माले मानव अधिकारको घटना राज्यसँग सम्बन्धित हुने भएकोले प्रहरीले मानवअधिकार हननका घटनामा शुन्य सहनशिलताको नीति लिएको बताए ।

    मानवअधिकारको संरक्षण र सम्बद्र्धनको लागि प्रहरीले विभिन्न स्थानमा सचेतनाको कार्यक्रम गर्दै आईरहेको भन्दै उहाँले राज्य नै मानव अधिकारको मुख्य संरक्षक भएको भन्दै मानव अधिकार र मौलिक हकमा समावेश भएका अधिकारहरु नागरिकलाई उपलब्ध गराउनु राज्यको मुख्य दायित्व भएको बताए । इन्सेकले मानवअधिकारको संरक्षण र सम्बद्र्धनमा राज्यलाई सहयोग गर्दै आएको उनको भनाई थियो ।

    सो कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का जिल्ला सचिव राजेश्वर ढकालले मानवअधिकारको विषयलाई इन्सेकले राम्रोसँग उठान गरेको बताए । इन्सेकले उपलब्ध गराएको तथ्याङ्क सहितको प्रतिवेदनले राजनीतिक पार्टीलाई पनि आफ्नो बैठकहरुमा छलफल गर्ने आधार हुने उनको भनाई छ । इन्सेकको प्रतिबेदनले जिल्लाको मानव अधिकारको अवस्थाको बारेमा प्रष्ट हुने भन्दै उनले मानव अधिकारको विषय विश्वव्यापी र सबैकोलागि भएको हुँदा राज्यले यसमा विभेद गर्न नहुने बताए । उनले मानव अधिकार हननका घटना निरुत्साहित गर्न पार्टीको तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाए ।

    नेपाली काँग्रेसका जिल्ला सचिव लक्ष्मीभक्त खनालले मानवअधिकारको घटना कसैले नचाहेर हुने हुँदा कसैले पनि यसप्रति पुर्वाग्रह राख्न नहुने बताए । राज्यको नीतिमा विभेद भएको हुँदा त्यो विभेद हटाउन सबैले पहल गर्नु पर्ने उनले बताए । इन्सेकले शान्ति प्रक्रिया र द्वन्द्व व्यवस्थापनमा महत्वपुर्ण भुमिका खेलेको हुँदा इन्सेकको प्रतिबेदनप्रति आफु र आफ्नो पार्टी पुर्ण विश्वस्त रहेको उनको भनाई थियो । नेकपा एकिकृत समाजबादीका जिल्ला सदस्य दिपक खातीले स्वास्थ्य विमाका उपभोक्तालाई औषधी नपाउने र उपचार समेत राम्रोसँग नहुने विषयलाई पनि इन्सेकले आफ्नो प्रतिबेदनमा समेट्नु पर्ने बताए ।

    नेपाल बार एसोसियसनको मानवअधिकार तथा जनसरोकार समितिका संयोजक सरिता थापा भण्डारीले शिक्षा, स्वास्थ्य र खाद्यका विषयलाई पनि मानवअधिकार वर्ष पुस्तकमा समावेश गर्नु पर्ने बताईन् । अदालतमा विचाराधिन मुद्धाको विषयमा मानवअधिकार वर्ष पुस्तकमा राख्न नहुने उनको भनाई थियो ।

    पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेलले मानवअधिकारको सवाल धेरै फराकिलो भएको भन्दै इन्सेकले जिल्लाको मानवअधिकारको अवस्थाको प्रतिबेदन तयार गरेर सन्चारकर्मीलाई धेरै सहयोग गरेको बताए । अधिकारको उपभोगसँगै कतव्र्य पालनामा पनि जोड दिनु पर्ने उनको भनाई थियो ।

    मानव अधिकार निगरानी समुहका सदस्य श्रीराम कंडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले सन २०२२ को ६ महिनाको तनहुँ जिल्लाको मानव अधिकारको अवस्था तथा मानव अधिकार वर्ष पुस्तकको लागि सङ्कलित घटनाहरुको प्रतिवेदन प्रस्तुत गरेका थिए । यस अवधिमा तनहँुमा भएका ६१ ओटा मानव अधिकार हननका घटनाहरुको विवरण प्रस्तुत गरिएको थियो ।