दमाैली । तनहुँको भानु नगरपालिका–८ भतेरे निवासी आगलागी पीडित मनमाया गुरुङलाई पुर्कोट सेवा समाज दोहा कतारले आर्थिक सहयोग गरेको छ । गत असार २ गते घरमा आगलागी भई पीडित गुरुङलाई समाजले २० हजार आर्थिक सहयोग गरेको हो ।
आगलागीबाट गुरुङको घर तथा घरमा रेहका सामग्री जलेर नष्ट गर्दा करिब दुई लाख बराबरको क्षति भएको थियो ।
भानुको पुर्कोट घर भई हाल कतारमा रहेका नेपालीहरुबाट रकम सङ्कलन गरी पीडितलाई हस्तान्तरण गरिएको संस्थाका पूर्व अध्यक्ष एवं सल्लाहकार रेशम तामाङले जानकारी दिए । घर आगलागी भएको थाहा पाएपछि संस्थाको तर्फबाट सहयोग गरिएको उनले बताए ।
वैदेशिक रोजगारीका लागि विदेशमा रहेपनि आफ्नो घरगाउँमा कसैलाई दुःख पर्दा संस्थाको तर्फबाट सहयोग गर्दै आइएको उनले जानकारी दिए । संस्थाले यसअघि पनि विभिन्न रोगबाट पीडित भएका बिरामीलाई पनि सहयोग गर्दै आएको छ ।