दमौली । जीवन सेवा अभियानको अध्यक्षमा प्रमिता गहतराज चयन भएकी छन् । गुरुपूर्णिमाको अवसरमा बुधबार सम्पन्न तेस्रो अधिवेशनलाई गहतराजलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले विद्यार्थीहरुले गुरुहरू प्रति गरेको सम्मान, जीवन सेवा अभियानले गर्दा आएको काम र भविष्यको बारेमा राखेको सोचको प्रशंसा गरे ।
भानु नगरपालिका-१२ का वडाध्यक्ष बेल बहादुर अधिकारीले शैक्षिक गतिविधिमा सहयोग गर्दा आत्मसन्तुष्टि हुने भन्दै वार्षिक रूपमा संस्थाका लागि २५ हजार सहयोग गर्ने प्रतिबद्धता जनाए ।
संस्थाको मुख्य ध्येय भनेको आर्थिक रूपमा कमजोर विद्यार्थीहरुलाई अध्ययनका लागि सहज भूमिका निर्वाह गर्ने र देशको औपचारिक एवं व्यावहारिक शिक्षामा सहभागी टेवा पुर्याउने हो । संस्थाले हालसम्म ४० जना भन्दा धेरै विद्यार्थीका लागि छात्रवृति प्रदान गरेको संस्थापक अध्यक्ष राजेश कुमार श्रेष्ठले जानकारी दिए ।
सो अवसरमा संस्थाको भिडियो क्लिप बनाई सहयोग गरेकामा बिकल श्रेष्ठ, संस्थापक राजेश कुमार श्रेष्ठ, वडा अध्यक्ष बेल बहादुर अधिकारी र जीवन विज्ञानका शिक्षक दीपा पौडेललाई संस्थाले सम्मान गरेको थियो । कार्यक्रम संस्थाकी अध्यक्ष पूजा सुनारको अध्यक्षतामा सम्पन्न भएको थियो ।