बन्दीपुर । तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित माउण्टेन रिसोर्टले भाडामा लिएको जग्गाको मूल्य पुनरावलोकन गर्न महालेखा परीक्षकको कार्यालयले सुझाव दिएको छ । रिसोर्टले २०५४ फागुन २० गते प्रतिहेक्टर प्रतिवर्ष रु ७७२ का दरले ४० वर्षलाई लिजमा लिएको थियो ।
प्रत्येक दश वर्षमा वार्षिक दस्तुर पुनरावलोकन गर्न सकिने व्यवस्था भएपनि २४ वर्षसम्म दस्तुर पुनरावलोकन नभएको पाइएको छ । वन नियमावली, २०५१ को अनुसूची २० मा कबुलियती वनको वार्षिक दस्तुर उल्लेख गरेको र उक्त शुल्क दश वर्षमा पुनरावलोकन गर्न सकिने व्यवस्था छ ।
गण्डकी प्रदेश क्षेत्रीय वन निर्देशनालयले १९ रोपनी जग्गा उक्त रिसोर्टलाई व्यवसाय सञ्चालन गर्न सम्झौता गरिदिएको थियो । ४० वर्षका लागि उक्त जग्गा लिजमा लिइएको छ । सम्झौता भएकै बखतकै मूल्यलाई आधार मानी हालसम्म रोयल्टी सङ्कलन हुँदै आएको महालेखाले उल्लेख गरेकाे छ ।