काठमाडौँ । नदी र सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व सुरु भएको छ ।कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म छठ पर्व मनाइन्छ । आज सूर्योेदयकालमा तृतीया तिथि भए पनि मध्याह्न १२ः२८ बजेदेखि चतुर्थी तिथि लाग्ने भएकाले आजैदेखि छठ पर्वको विधि सुरु गरिएको हो ।
कार्तिक शुक्ल चतुर्थीका दिन आज बर्तालु स्नान गरी चोखो खाएर बस्छन् । व्रतको पहिलो दिन घर एवं छठ पूजा स्थललाई सफाइ गर्ने परम्परा पनि छ । सूर्यदेवको आराधना, उपासना र पूजा गरेर मनाइने यो पर्व पूरा नहोउन्जेलसम्म बर्तालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि उपभोग गर्दैनन्।
आज चतुर्थीका दिनलाई अरबाइन वा अरबा भनिन्छ । मनोकाङ्क्षा पूरा हुने विश्वासमा महिलाले छठमा कठोर व्रत गर्छन् । विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित यो पर्व विसं २०४६ पछि काठमाडौँलगायत पहाडमा पनि मनाउन थालिएको हो ।
विसं २०४६ देखि नै सरकारले यस पर्वका दिन सार्वजनिक बिदा दिँदै आएको छ । विसं २०६३ पछि भने काठमाडौँको थापाथली, गुह्येश्वरी, गौरीघाट र रानीपोखरीमा पनि विशेष महत्वका साथ यो पर्व मनाउन थालियो । यसअघिदेखि नै वाग्मती र विष्णुमती नदी किनारमा छठ मनाउने गरिन्थ्यो । रानीपोखरीमा भूकम्पपछि पुनःनिर्माणका क्रममा पानी नभएकाले केही वर्ष छठ मनाउन रोकिएको थियो ।
२०७७ असोजमा रानीपोखरी पुनःनिर्माण सकिएपछि पनि त्यहाँ छठ मनाउन थालिएको छैन । यस वर्ष रानीपोखरीमा छठ मनाउन माग भएकाले दिने विषयमा छलफल भइरहेको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । व्रतको दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा निर्जल उपवास बस्ने गरिन्छ ।
यस दिन बेलुकी घरमा खीर बनाएर चन्द्रमालाई अर्पण गरी एक छाक खाने गरिन्छ । यसलाई खरना भन्ने गरिएको काठमाडौँमा छठ मनाउँदै आउनुभएका रमेश झाले बताए । “षष्ठीका दिन बर्तालुले ठेकुवा, फलफूल, मिठाई र रोटी सूर्य एवम् छठी मातालाई चढाउने गर्छन्, रोटीमा सूर्यको रथका पाङ्ग्रा अङ्कित गरिन्छ”, उनले भने ।
षष्ठीका दिन पकवान, फलफूल र नरिवललाई बाँसको टोकरीमा सजाएर माथिबाट कपडाले छोपिन्छ । साँझपख बत्ती बालेर माटाको घडाको साथ गीत गाउँदै नदी वा तलाउका किनारमा पुग्ने र डुब्न लागेका सूर्यलाई अघ्र्य दिई प्रणाम गरिन्छ । अघ्र्य दिएपछि तीनपटक पानीमा डुबुल्की मारी मनोरञ्जन गर्दै त्यहीँ रात बिताउने गरिन्छ । सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई दर्शन गर्न बिहान ४ बजेदेखि नै प्रतीक्षा गरिन्छ ।
उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिएर बिसर्जन गरिन्छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो । सूर्योदयकालमा अघ्र्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ । सूर्यको दर्शन गर्दा भक्तहरु लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि रहेको गुह्येश्वरीस्थित छठ पूजा समितिका अध्यक्ष अनिल सिंहले बताए ।