तनहुँ १ प्रदेश १ : जितको खोजीमा अशोक, जित दोहोर्याउने प्रयासमा रामबहादुर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    तनहुँ १ प्रदेश १ : जितको खोजीमा अशोक, जित दोहोर्याउने प्रयासमा रामबहादुर

    खबरपुञ्ज संवाददाता

    २१ कार्तिक २०७९, मंगलवार

    दमाैली । विसं २०७४ सालको निर्वाचनमा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई प्रतिनिधिसभा सदस्य उम्मेदवारको आकाङ्क्षी थिए । वरिष्ठ नेता रामचन्द्र पौडेल आफै उम्मेदवार बन्ने भएपछि भट्टराईलाई प्रदेश १ मा व्यवस्थापन गरियो ।

    तनहुँ क्षेत्र नम्बर १ प्रदेश १ मा तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धन भन्दा नेपाली काङ्ग्रेस बलियो देखिएको थियो । सबैको अनुमान थियो भट्टराईले चुनाव जित्छन् । तर भट्टराईलाई पराजित गर्दै नेकपा एमालेका रामबहादुर गुरुङ विजयी भए ।

    २०७४ मा निर्वाचित गुरुङ पुनः अहिले उम्मेदवार बनेका छन् । गुरुङसँग नेपाली काङ्ग्रेसका अशोककुमार श्रेष्ठले प्रतिस्पर्धा गर्दैछन् । श्रेष्ठलाई नेकपा (माओवादी) केन्द्रको समर्थन छ ।

    मङ्सिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारहरु यतिबेला घरदैलोमा व्यस्त छन् । प्रदेशसभा सदस्यको हैसियतले आफूले गरेको विकासका कामले गर्दा पुनः आफू निर्वाचित हुनेमा विश्वस्त रहेको गुरुङ बताउँछन् । आफूले सुरु गरेका विकासका योजना अधुरा रहेकाले त्यसलाई पूरा गर्नु आफ्नो मुख्य लक्ष्य रहेको गुरुङले बताए ।

    नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि श्रेष्ठले घरदैलोमा जनताको समर्थन र उत्साहले जित नजिक पुगेको बताउँछन् । “घरदैलोमा जाँदा जनताबाट प्राप्त समर्थन नै मेरो जितको आधार हो । जुन जुन ठाउँमा गएको छु त्यहाँका जनताले तपाईजत्तिको मान्छेले जित्नुपर्छ भनेका छन् । सबैबाट सहयोग गर्ने प्रतिबद्धता पाउँदा उत्साहित छु ।”

    २०७४ काे निर्वाचनमा रामबहादुरकाे जितमा गुरुङ समुदाय निर्णायक देखिएकाे थियाे । यसपटक पनि गुरुङ समुदायकाे मत निर्णायक हुने बताइन्छ ।

    स्थानीय तहको मतका आधारमा को बलियो ?

    तनहुँ १ प्रदेश १ मा व्यास नगरपालिका २, ३, ४, ७, ८, ९, १०, ११ र भानु नगरपालिकाका १३ वडा पर्छन् । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मतभार हेर्दा यो क्षेत्रमा नेपाली काङ्ग्रेस एक्लै बलियो छ ।

    व्यास र भानु नगरपालिकामा नेपाली काङ्ग्रेसका वडाध्यक्षहरुले कूल १९ हजार एक सय ८८ मत प्राप्त गरेको छ । नेकपा एमालेले १४ हजार ७४ मत प्राप्त गरेको छ । नेकपा माओवादी केन्द्रले एक हजार चार सय आठ मत प्राप्त गरेको छ भने नेकपा एकीकृत समाजवादीले आठ सय ४९ मत प्राप्त गरेको छ ।

    सत्तारुढ गठबन्धन भएपनि यो प्रदेशमा नेकपा एकीकृत समाजवादीले आफ्नो छुट्टै उम्मेदवार उठाएको छ ।