ऋषिङ । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार किरण गुरुङ्गले काम गर्ने व्यक्तिलाई जिताएर पठाउन आग्रह गरेका छन् । मङ्गलबार ऋषिङ गाउँपालिकाको विभिन्न स्थानमा भएका मतदाता भेटघाट एव कोण सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
‘विगतमा नेपाली काङग्रेसले लामो समयदेखि जितेको ऋषिङमा गएको ५ वर्षमा हामीले विकास निर्माणमा महत्वपूर्ण आधार निर्माण गरेका छौं, उनले भने, ‘गफ मात्र गर्ने भन्दा पनि कामै गर्ने व्यक्तिलाई संसदमा विजयी गराएर पठाउनुहोस ।’
उनले यस क्षेत्रमा जनताका आधारभूत विषयलाई प्राथमिकतामा राखेको बताउँदै विकास निर्माणका कार्य क्रमशः गर्दै जाने प्रतिवद्धता जनाए । एमाले नेतृत्व सरकारले ग्रामीण भेगमा एक घर एक धारा निर्माण अभियान शुरुवात गरेको स्मरण गर्दै अब खानेपानीकै लागि जनताले दुःख पाउनुपर्ने अवस्था विस्तारै हट्ने दाबी गरे ।
तनहुँ २ प्रदेश २ का उम्मेदवार केदार सिग्देलले विगतमा भएका कामको मूल्याङ्कन गरि एमालेका उम्मेदवारलाई विजयी गराउने विश्वास व्यक्त गरे ।
मंगलवार पल्ट्याङ, झिरुबास,धारुङ,गोर्दी, रिसिङ, पुरानोथोक, मैदानस्वारा, चालिसे, राईथोक, सपाङ्दी लगायतका क्षेत्रमा घरदैलो अभियान भएको थियो ।