गण्डकीमा मुख्यमन्त्री बन्दै खगराज, आज दावी पेश गरिदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    गण्डकीमा मुख्यमन्त्री बन्दै खगराज, आज दावी पेश गरिदै

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    पोखरा । गण्डकी प्रदेशमा एमालेको नेतृत्वमा सरकार गठनका लागि आज दाबी पेश गरिदै छ । एमाले संसदीय दलका नेता खगराज अधिकारीको नेतृत्वमा सरकार गठनका लागि दाबी पेश गर्ने तयारी भएको एमाले केन्द्रिय सचिव एवं गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्यालले जानकारी दिइन् । केन्द्रमा बसेको सत्तारुढ दलको साझा बैठकले गण्डकी प्रदेशको नेतृत्व एमालेले लिने सहमति भएको छ ।

    गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार गठनका लागि दाबी पेश गर्न दिएको समय आज अपराह्न चार बजे सकिँदै छ । सोमबार बिहान तीन दलको बैठक बसेर दाबी पेश गर्ने समय छुट्याइने सचिव अर्यालले बताइन् ।

    गण्डकीमा सत्तारुढ दल एमाले, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी रहेका छन् । मुख्यमन्त्रीको लागि एमाले र माओवादी दुवैको दाबी थियो । गण्डकी प्रदेशसभामा एमाले दोस्रो ठूलो दलको हैसियतमा रहेको छ । १२ प्रत्यक्ष र १० समानुपातिक गरी एमालेका २२ सिट रहेका छन् । ५ प्रत्यक्ष र ३ समानुपातिक गरी ८ सिटसहित गण्डकीमा माओवादी तेस्रो स्थानमा रहेको छ भने, राप्रपा समानुपातिकबाट २ सिट ल्याएर सहभागी भएको छ । ६० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ३१ सिट आवश्यक पर्दछ । सरकार गठनका लागि तीन दललाई बहुमत पुग्नेछ । 

    संविधानको धारा १६८ को उपधारा १ बमोजिम सरकार गठनका लागि गण्डकीमा कुनै पनि दलको एकल बहुमत पुग्दैन । संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई या दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार प्रदेश प्रमुख गुरुङले दाबी पेश गर्न आह्रवान गरेका हुन् ।