दमौली । स्थानीय तह संस्थागत स्वमूल्याङ्कनमा व्यास नगरपालिकाले ८७.५ प्रतिशत प्राप्त गरेको छ । विभिन्न सूचकका आधारमा नगरपालिकाले उक्त प्रतिशत प्राप्त गरेको हो ।
आर्थिक वर्ष २०७८/७९ मा सम्पादित कार्यक्रमहरुलाई आधार मानी उक्त मूल्याङ्कन गरिएको हो । गत आर्थिक वर्ष २०७८/७९ मा नगरपालिकाले ८९ प्रतिशत प्राप्त गरेको थियो ।
नगरपालिकाले समग्र स्थितिमा ९०.४८, प्रक्रियागत स्थितिमा ८५.२९ र परिमाणात्मक स्थितिमा ८७.७८ प्रतिशत प्राप्त गरेको छ ।
त्यस्तै भौतिक पूर्वाधारमा ८०.७७, सामाजिक समावेशीकरणमा ८५, सहकार्य र समन्वयमा ३३, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ८८.८९ प्रतिशत प्राप्त गरेको छ ।
शासकीय प्रबन्धमा ९४.४४, वित्तीय एवं आर्थिक व्यवस्थापनमा १००, संगठन तथा प्रशासनमा ८७.५, सेवा प्रवाहमा ९३.७५, न्यायिक कार्य सम्पादनमा १०० र वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ९०.९१ प्रतिशत प्राप्त गरेको नगरपालिकाले जनाएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन स्थानीय तहहरुको संस्थागत क्षमता मूल्याङ्कनका लागि दश विषय क्षेत्रहरुमा तीन स्थितिहरु विभाजन गरी उक्त नतिजा सार्वजनिक गर्ने गर्छ ।
स्थानीय तहको कार्यप्रकृया र उपलब्धीहरुको बारेमा लेखाजोखा गरी सबल र दुर्बल पक्षहरुको पहिचान गर्न, विकास तथा सुशासनमा रहेका कमी कमजोरीहरुको जानकारी लिन, आवधिक समिक्षाको लागि आधार प्राप्त गर्न र गाउँपालिका तथा नगरपालिकाहरुको बीचमा तुलनायोग्य सूचकहरु तर्जुमा गरी प्रतिस्पर्धात्मक सुधारमा अग्रसर गराई स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउन वाञ्छनीय भएकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८० को प्रयोजनका लागि मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि बनाएको थियो ।
मन्त्रालयको कार्यविधि अनुसार शासकीय प्रबन्धतर्फ ९, सङ्गठन तथा प्रशासनतर्फ ८, वार्षिक बजेट तथा योजना व्यवस्थापनतर्फ ११, वित्तीय एवं आर्थिक व्यवस्थापन ११, सेवा प्रवाहतर्फ १६, न्यायिक कार्य सम्पादतर्फ ७, भौतिक पूर्वाधारतर्फ ७, सामाजिक समावेशीकरणतर्फ १०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनतर्फ ९ र सहकार्य र समन्वयतर्फ ६ कूल भार निर्धारण गरिएको छ ।