रामचन्द्रलाई प्रदीपको प्रश्‍न : ठूलो दल विभाजन गर्न अध्यादेश ल्याउँदा राष्ट्रिय सहमतिको विषय कता थियो ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    रामचन्द्रलाई प्रदीपको प्रश्‍न : ठूलो दल विभाजन गर्न अध्यादेश ल्याउँदा राष्ट्रिय सहमतिको विषय कता थियो ?

    खबरपुञ्ज संवाददाता

    १० माघ २०७९, बुधबार

    काठमाडाै । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कांग्रेसका नेता रामचन्द्र पौडेलले अगाडि सारेको राष्ट्रिय सहमतिको आवश्यकतालाई अवसरवादको संज्ञा दिएका छन्। संसद बैठकमा कांग्रेसका सांसद पौडेलले ‘राष्ट्रिय सहमति’को आवश्यकता औंल्याउँदै दिएको अभिव्यक्तिमा ज्ञवालीले इमान नभएको टिप्पणी गरेका हुन्। 

    ज्ञवालीले प्रतिपक्षका विरुद्ध सत्तापक्षीय गठबन्धन, घेराबन्दी र निषेधको बाटो अख्तियार गरिरहँदा र सत्तामा रहेर प्रतिपक्षलाई निमिट्यान्न पार्ने उद्घोष गरिरहँदा राष्ट्रिय सहमतिको विषय कता हराएको थियो भन्दै प्रश्न गरेका छन्। ‘अदालतलाई प्रयोग गर्दै जननिर्वाचित सरकारलाई विस्थापन गर्दा, सदनको सबैभन्दा ठूलो दललाई विभाजन गर्ने प्रयोजनकै लागि रातारात अध्यादेश ल्याउँदा, प्रतिपक्षका विरुद्ध सत्तापक्षीय गठबन्धन, घेराबन्दी र निषेधको बाटो अख्तियार गरिरहँदा र सत्तामा रहेर प्रतिपक्षलाई निमिट्यान्न पार्ने उद्घोष गरिरहँदा राष्ट्रिय सहमतिको विषय कता हराएको थियो होला ?’ ज्ञवालीले सामाजिक सञ्जालमार्फत पौडेललाई भने,‘निर्वाचनको परिणामले दिएका केही गम्भीर सन्देश र मुलुकका सामु उपस्थित चुनौतीका बारेमा सार्थक छलफल गरौं भन्ने प्रस्तावलाई उपेक्षा गरिरहँदा सहमतिको विषय कुन विस्मृतिको गर्तमा पुरिएको थियो होला ? पुस १० गते बिहानसम्म पनि सबै प्रमुख कार्यकारी र संवैधानिक पदहरुमा एकल वर्चस्व कायम गर्न खोजिरहँदा राष्ट्रिय सहमति कता गायब थियो होला ?’

    पौडेलले उठाएको समस्याग्रस्त अर्थतन्त्र, भूराजनीतिक दबाब र शान्ति प्रक्रिया नटुंगिएको विषयलाई ज्ञवालीले मुलुकले भोग्नु परेका गम्भीर चुनौती हुन् भन्नेमा सन्देह नभएको बताएका छन्। उनले भने, ‘समस्याग्रस्त अर्थतन्त्र, भूराजनीतिक दबाब र शान्ति प्रक्रिया नटुंगिएको विषयहरू आज मुलुकले भोग्नु परेका गम्भीर चुनौती हुन् भन्नेमा सन्देह छैन। तर माननीय रामचन्द्र पौडेल एउटा प्रश्नमा भने मौन रहनुभएको छ– यी समस्या आज अचानक देखा परेका हुन् कि हिंजैदेखि विद्यमान थिए ? समस्या त हिँजैदेखि विद्यमान थिए। तर आज अचानक यो ‘बोधिसत्व’ कसरी देखा पर्‍यो ?’

    कांग्रेसले एजेण्डामा गम्भीर परामर्श गर्न चाहेको भए सरकारले स्वागत गर्नुपर्ने बताएका छन्। ‘पौडेलका अभिव्यक्तिमा इमान होइन, अवसरवाद छचल्कियो। निश्चय नै उपर्युक्त विषयहरु गम्भीर छन्। यसका लागि एजेण्डामा सहमति खोज्ने हो, कुनै पद विशेषमा होइन। नेपाली कांग्रेसले यी एजेण्डामा गम्भीर परामर्श गर्न चाहेको हो भने सरकारले हार्दिक स्वागत गर्नुपर्छ र रचनात्मक सहयोग ग्रहण गर्न तत्पर हुनुपर्छ। तर होइन, नजर एकातिर र निशाना अर्कोतिर छ भने त के लाग्छ र ?’उनले भने।

    ज्ञवालीले प्रमुख प्रतिपक्षको हैसियत पाऊँ भनेर पत्राचार गर्नुपर्ने अवस्था आफैंमा गम्भीर आत्मसमिक्षाको विषय होइन र ? भन्दै प्रश्न समेत गरे।