दमौली । मान्छे कतिसम्म क्रुर र निर्दयी बन्दैछ ? तनहुँको बन्दीपुरमा सोमबार घटेको एक घटनाले प्रष्ट पार्छ । बन्दीपुर गाउँपालिका–३ शेराटारमा सोमबार एका विहानै आफ्नै आमालाई छोराबुहारीले कुटपिट गरी मारेर आगोमा जलाइदिएका छन् ।
सोमबार विहान उज्यालो नहुँदै राजकुमार सार्कीको गाई गोठमा आगो लाग्यो । गाइगोठमा आगो लाग्दा गाइसँगै राजकुमारकी आमा ८४ वर्षीया माया सर्किनीको जलेर मृत्यु भयो । स्थानीय जनप्रतिनिधिले गाई गोठमा आगो लागेर गाइसहित सर्किनीको मृत्यु भएको खबर इलाका प्रहरी कार्यालय बन्दिपुरमा गरे । जानकारी दिने जनप्रतिनिधिले प्रहरीलाई भने, ‘घटना शंकास्पद छ । केही न केही हुन सक्छ ।’
जलेर मृत्युवरण गरेकी सर्किनीको अनुहारमा चोटपटक लागेको कारण घटना शंकास्पद थियो । त्यसपछि इलाका प्रहरी कार्यालय बन्दीपुरले जिल्ला प्रहरी कार्यालय तनहुँलाई खबर ग¥यो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक अवदेश विष्टसहितको अनुसन्धान टोली घटनास्थलमा खटियो । प्रारम्भिक अनुसन्धान गर्दा आफ्नै ४७ वर्षीय छोरा राजकुमार सार्की र बुहारी ३५ वर्षीयासुशिला मजाकोटीले कुटपिट गरेर हत्या गरी जलाएको खुलेको छ ।
प्रारम्भिक अनुसन्धानमा छोराबुहारीले कर्तव्य गरी मारेको खुलेपछि दुवैलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले बताए ।
मृतक सर्किनी प्यारलाइसिसको बिरामी रहेको खाँणले बताए । ‘प्यारालाइसिसको बिरामी भएकाले छोराबुहारीले आमालाई नरुचाउने रहेछन्’, उनले भने । छोराबुहारीसँग पहिल्यैदेखि सम्बन्धमा खटपट भइरहने कारण नजिकै रहेको छोरीको घरमा बस्दै आएकी उनी पछिल्लो १०/११ दिनदेखि छोराको घरमा बस्दै आएकी थिइन् ।
दुई छोरा मध्य एक छोराको यसअगाडि नै मृत्यु भएको थियो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । आमालाई मारेका छोराबुहारी फरार भएनन् । प्रहरीले दुवैलाई घरबाटै नियन्त्रणमा लिएको हो ।