पोखरा । पोखरामा गत माघ १ गते भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका पोखरा–२५ हेमजाका एक दम्पतीको एक महिनापछि आज अन्त्येष्टि गरिएको छ । दुर्घटनामा ज्यान गुमाएका हेमजा हनुमानचोक निवासी राजन सापकोटा र उनकी श्रीमती आनिषा बानियाँ सापकोटाको हेमजा सेती नदी मराङघाटमा अन्तिम संस्कार गरिएको हो ।
अनिषाको शव पहिचान गर्न समस्या भएपछि अन्तिम संस्कार गर्न ढिलाइ भएको हो । राजनको शव माघ ८ गते काठमाडौँमा शवपरीक्षणबाट पहिचान भए पनि अनिषाको पहिचान गर्न डिएनए गरिएको थियो ।
डिएनएको रिपोर्ट हिजो प्राप्त भएपछि काठमाडौँबाट राति शव ल्याएर बिहान शवयात्रासहित अन्तिम संस्कार गरिएको मृतकका काका प्रकाशचन्द्र सापकोटाले जानकारी दिए । उनीहरुको आजदेखि नै काजकिरिया सुरु भएको र दाजु किरिया बसेको बताइन्छ ।
डिभी परेर अमेरिका बस्दै आएका राजन गत वर्ष विवाह गरेर फर्किएका थिए। विवाहको पहिलो वार्षिकोत्सव मनाउन उनी पुस ३० गते नेपाल आएका थिए । उनलाई लिन श्रीमती अनिषा काठमाडौँ गएकी थिइन् ।
पोखरा फर्किने क्रममा उनीहरु चढेको विमान अवतरणका क्रममा विमानस्थल नजिक सेतीखोँचमा दुर्घटनामा परेको हो । यती एयरलाइन्सको सो विमान दुर्घटनामा परी ७२ जनाले ज्यान गुमाएका थिए ।
यसैगरी एक महिनाअघि पोखराको सेती खोँचमा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा परी दिवङ्गत पोखरा–२१, दोविल्ला निवासी २४ वर्षीया सविना रायमाझीको अन्त्येष्टि गरिएको छ । पोखरा–२१ स्थित सेती नदीको दोबिल्ला घाटमा सोमबार बिहान सविनाको अन्त्येष्टि गरिएको उनका पारिवारिका सदस्यले जनाएका छन् ।