चितवन । नारायणगढ-मुग्लिन सडककाे भरतपुर महानगरपालिका- २९ सिमलतालमा आइतबार सडकमै रोकिराखिएको टिपरको पछाडि माइक्रो बस ठोक्किँदा १६ जना यात्रु घाइते भएका छन् ।
आइतबार दिउँसो ४ बजेर ४५ मिनेट जाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइतेमध्ये दुई जनाकाे अवस्था गम्भीर रहेकाे र बाँकी १४ जनाकाे अवस्था मध्यम रहेकाे चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए ।
डीएसपी पण्डितका अनुसार नारायणगढबाट काठमाडाैंतर्फ जाँदै गरेकाे बा ३ ख ५८९१ नम्बरकाे माइक्राे बस ना ६ ख ४४९० नम्बरकाे टिपरकाे पछाडि ठाेक्किएकाे थियाे । घाइतेहरूको चितवनका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।