गर्मी बढेसँगै डढेलोको चुनौति, सचेतनामूलक कार्यक्रम गरिँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गर्मी बढेसँगै डढेलोको चुनौति, सचेतनामूलक कार्यक्रम गरिँदै

    खबरपुञ्ज संवाददाता

    ४ चैत्र २०७९, आईतवार

    दमाैली । गर्मीयाम सुरु भएसँगै तनहुँका सामुदायिक वनमा डढेलोको चुनौति भएकाले डढेलो नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका छन् । हिउँदेयाम सुरु भएपछि जिल्लाका वनमा डढेलो लाग्ने सम्भावना भएकाले अहिल्यैदेखि नै सचेतना अपनाउन थालिएको हो ।

    यस वर्ष वनमा आगलागीका घटना नभइसकेपनि सचेतना अपनाउन आवश्यक रहेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्ले बताउँछन् । “आगलागीको मौसम सुरु भइसकेको छ, जिल्लामा अहिलेसम्म आगलागीका घटना नभइसकेपनि जोखिम रहेकाले सचेत हुनुपर्छ,” उनले भने ।

    वन डढेलो हामी सबैको साझा चुनौति भएकाले सबै मिलेर यसको सामना गर्नुपर्नेमा उनकाे भनाइ छ । “वन डढेलोले तापक्रम बढाउनुका अतिरिक्त वन्यजन्तु तथा वनस्पतिको वासस्थान नष्ट गर्ने, माटो नाङ्गो र कमजोर बनाई भलको बहाव र गति बढाई भूक्षय, बाढी, पहिरो, डुबान जस्ता प्रकोपले धन, जन र सम्पदाहरुमा क्षति पुग्छ,” काफ्लेले भने, “तसर्थ यस्तो कार्य नगरौं, वनमा डढेलो लगाए कानूनी कारवाहीका लागि सहयोग गरौं ।”

    वन डढेलो लागेको देखेमा निभाउने कार्य गरी जिम्मेवारी नागरिकको भूमिका खेल्न वन कार्यालयले आग्रह गरेको छ । वन डढेलोले कम्तिमा दश प्रतिशत तापक्रम बढाउने बताइएको छ । वनमा डढेलो लगाउने कार्य गम्भीर अपराध मानी फौजदारी कसुरमा राखिएको छ ।

    डिभिजन वन कार्यालयले जिल्लाका आठ वटै सव डिभिजनलाई वन डढेलो सचेतना कार्यक्रम सञ्चालन गर्न परिपत्र गरेको छ । सप्ताहव्यापी रुपमा वन कार्यालयको कार्यक्षेत्रमा रहेका सामुदायिक वन समूहहरुसँग समन्वय गरी चेतनामूलक कार्यक्रम र सडक किनारमा रहेका सामुदायिक वनहरुको पात पतिङ्गर सरसफाई गरी नियन्त्रित आगो लगायतका अन्य वन डढेलो नियन्त्रणका कार्यक्रम सञ्चालन गरिनेछ ।

    डढेलो लाग्ने १८ जिल्लामध्ये तनहुँ पनि उच्च जोखिममा पर्दछ । डढेलोको जोखिम कम गर्न कार्यालयले सचेतनामूलक कार्यक्रमलाई पनि सँगसँगै अगाडी बढाएको छ । वन डढेलो नियन्त्रण वन कार्यालयले मात्रै गर्न नसक्ने भएकाले सरोकारवालाको पनि यसमा उत्तिकै भूमिका आवश्यक रहेको काफ्लेले बताए। “डढेलो नियन्त्रणका लागि उपभोक्ता समूह, सामुदायिक वन उपभोक्ता महासङ्घ लगायतलाई आग्रह गरेका छौ,” उनले भने, “सर्वसाधारणले घर नजिकैको पातपतिङ्गर सफा गर्न डढेलो लगाइदिने र सोही डढेलो वन क्षेत्रमा सल्किने गरेको छ ।”

    वनजङ्गलमा डढेलो लगाउनेलाई कानूनी कारवाही हुने भएकाले त्यसबारेमा सर्वसाधारणलाई सचेत गराउन जरुरी रहेका काफ्लेले बताए। वन ऐन २०७३ बमोजिम डढेलो लगाउनेलई तीन वर्षसम्म कैद र रु ६० हजारसम्म जरीवाना हुने व्यवस्था छ । जिल्लाको ८२ हजार ५ सय ४९ हेक्टर क्षेत्रफल वनले ओगटेको छ ।