अपाङ्गता भएकी महिलालाई घरमै पुगेर नागरिकता (भिडिओ सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    अपाङ्गता भएकी महिलालाई घरमै पुगेर नागरिकता (भिडिओ सहित)

    खबरपुञ्ज संवाददाता

    १६ चैत्र २०७९, शुक्रबार

    दमौली । जिल्ला प्रशासन कार्यालय तनहुँले अपाङ्गता भएकी एक महिलालाई घरमै पुगेर नागरिकता वितरण गरेको छ । आँबुखैरेनी गाउँपालिका–२ खानीखोलाकी अपाङ्गता महिला राममाया गुरुङलाई प्रशासन कार्यालयले घरमै पुगेर नागरिकता वितरण गरेको हो ।

    प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बिहीबार साँझ घरमै पुगेर ती महिलालाई नागरिकता वितरण गरेका छन्। हिँडडुल गर्न नसक्ने ती महिलालाई कार्यालयसम्म आवतजावतका लागि समस्या हुने भएपछि कार्यालयले घरमै पुगेर नागरिकता दिएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।

    “नागरिकहरुलाई सकभर छिटो, छरितो र सहुलियत ढङ्गले सेवा प्रवाह गर्नु हाम्रो कर्तव्य हो, उहाँ अपाङ्गता भएका कारण आवतजावतमा समस्या हुने भएपछि घरमै पुगेर नागरिकता दियौ,” प्रजिअ रिजालले भने । अप्ठ्यारोमा परेका व्यक्तिहरुलाई प्रशासन कार्यालयले घरमै पुगेर नागरिकता वितरण गर्ने अभियान चलाएको प्रजिअ रिजालले जानकारी दिए ।

    “यसले गर्दा उहाँहरुको परिवारमा सरकारप्रतिको भरोसा र सकारात्मक धारणा पनि विकास भएर जान्छ । यस्तो काम हाम्रो कर्तव्य पनि हो,” उनले भने, “अपाङ्गता भएका महिलाको बारेमा थाहा पाउनेबित्तिकै कार्यालयमा नबोलाउनुस्, घरमै पुगेर नागरिकता दिन्छौ भनेर भनेका थियौ ।”

    चार वर्ष अगाडी घरमै बसिरहेका बेला एक्कासी ढलेपछि उहाँलाई उपचारका लागि लैजाँदा टाउकोमा पानी जमेको छ भनी शल्यक्रिया गर्नुपर्छ भनेर चिकित्सकले सुनाएको निजका श्रीमान् देवराज जीवन गुरुङले जानकारी दिए । “टाउकोमा पानी जमेको छ, शल्यक्रिया नगरे जे पनि हुन्छ भनेर चिकित्सकले भने, पछि शल्यक्रिया गरेपछि त हिँडडुल गर्न पनि नसक्ने अवस्थामा पुगिन्,” उनले भने ।

    अपाङ्गता महिला आफै हिँडडुल गर्न सक्दिनन् । बोलचाल पनि गर्न सक्दिनन् । कतै हिँडडुल गर्न पर्दा परिवारको साथ चाहिने श्रीमान् गुरुङले बताए । “नागरिकता बनाउन प्रशासन कार्यालयसम्म जान डेढ घण्टा भन्दा बढी लाग्ने, उनलाई लिएर लैजान पनि गाह्रो भइरहेको अवस्थामा प्रशासन कार्यालयबाट घरमै आएर नागरिकता दिनुभयो,” उनले भने, “एकदमै खुसी लाग्यो, सरकार घरमै आए जस्तो अनुभूति भयो ।”