


दमौली । व्यास नगरपालिकाका मेयर प्रत्यासी दीपकराज जोशीले व्यास-८ रिस्तीमा कांग्रेस कार्यकर्ताबाट मरणासन्न हुने गरी कुट्दा स्वास्थ्यलाभको कामना नगर्नेहरु अहिले भोट माग्दा लाज पनि लजाएको बताएका छन् ।
स्थानीय तह निर्वाचनका बेला व्यास-८ रिस्तीमा उनीमाथि आक्रमण भएको थियो । मतदान केन्द्रमा पुगेका बेला उनको टाउकोमा आक्रमण गरिएको थियो ।
उनले मंगलबार सामाजिक सञ्जालमा लेखेका छन, ‘हामीलाई यो चुनावमा सहयोग गर्नू भनेर आउँदा लाज पनि लजाएको छ।’
जोशीले भने, ‘आज मेरा काकाहरु आफ्नो स्वार्थको लागि फोन हानि रहेका छन। कुनै बेला यहीं नेपाली कांग्रेस ले मरणासन्न गरेर मलाई हमला गर्दा मैले तपाईंमध्येका कसैबाट पनि भेटघाट र सहानुभूति त टाढाको कुरा शीघ्र स्वास्थ्यलाभको कामना पनि आएन । हुन त मेरो बुवाको स्वास्थ्यमा समस्या आएर भारत लैजाने समयमा जोशी मर्यो कि जिउँदै छ भनेर हेर्न आउनेहरूको अनुहार मेरो आँखाअगाडि अहिले पनि कहालीलाग्दो तबरले घुम्छ । त्यो समयमा पनि मान्छे यतिविघ्न निकृष्ट हुन सक्ने कुरा मैले आफ्नै आँखाले देखें, अनुभव गरें ।’
उनले भने, ‘आज मैले जे भोग्नुपर्यो यो कुरा इतिहासले सम्झने छ, र तपाईंका छोरा नातिले पनि सुन्नेछन् दण्डहीनताको पक्षधर तपाईंको कथा । आजसम्म मैले तपाईंहरूलाई काकाको हैसियतले हेर्ने गल्ती गरिरहेको रहेछु भन्ने कुराले आफैंलाई पिरोलेको छ । म त दुश्मन पो रहेछु । एउटा दुश्मनले अर्को दुश्मनलाई भाइचाराको नजरले हेर्ने दुष्प्रयास भएपछि मान्छेले उन्नति गर्दैन भन्ने कुरा साबित गरिदिनुभयो।’
जोशीले भने, ‘पद, पैसा र शक्तिको आडम्बरमा मानवता हराएको देशमा मैले यति ठूलो आशा राख्नु नै गलत हो। तर पनि चिन्ता नमान्नुस् काकाहरू, बुढेसकालमा कतै लौरो हातबाट खस्दा यो भतिज तपाईंको लौरो बनेर आउने छ । आत्मग्लानिले आँसु झर्दा त्यो आँसु रुमाल लिएर मेरै हातले पुछियोस्। मभित्र त्यो संस्कार छ । र गर्व छ मलाई कि म तपाईंहरू जस्तो छैन र बन्दिनँ पनि ।’
उनले चुनाव अगाडि ढोक्सा थाप्ने काम नगर्न सुझाव दिएका छन् । कांग्रेस पूर्व सहमहामन्त्री गोविन्दराज जोशीका छोरा उनी गत स्थानीय तह निर्वाचनमा एमालेको सहयोगमा व्यासको मेयरमा प्रत्यासी थिए । उनी २५२ मतको झिनो अन्तरले पराजित भएका थिए ।