दमाैली । भताभुङ्ग रहेको संगठनात्मक संरचनालाई लयमा ल्याउँदै सुरक्षा क्षेत्रमा ३० बर्षको अनुभव संगालेका नेपाल प्रहरीका पूर्वमहानिरिक्षक (आईजी) सर्वेन्द्र खनाल एमालेबाट तनहुँ–१ को उपनिर्वाचनका लागि उम्मेदवार बनेका छन्। चुनावी प्रचारमा रहेका उनी यहाँको प्रतिनिधि बनी समाजलाई गति दिने र केन्द्रमा आवाज बलियो बनाउने धेयमा जुटेका छन्।
गृहजिल्ला तनहुँको क्षेत्र नम्बर १ मा आगामी १० वैशाखमा हुने उपनिर्वाचनमा उनी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र हालै मात्र कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बन्न पुगेका स्वर्णिम वाग्लेविरुद्ध मैदानमा छन्। ३० बर्षसम्म बन्दुक बोकेर जनताको सेवा नै गरेका खनाललाई थाहा छ, समाज सेवाका निम्ति बन्दुक भन्दा जनताको मत बलियो हुन्छ। यसकारण पनि उनी जनताको दैलोमा जनताका आवाज केन्द्रमा राख्नका निम्ति पुगेका छन्।
कतिपयले विदेशमा लामो समयसम्म अध्ययन गरी, जागिर खाएर विज्ञता हासिल गरेर चुनावमा आएको भनी आफ्ना उम्मेदवारको प्रचार गरिरहेका छन्। तर, खनालले माटोको सुगन्धको राजनीति हुनुपर्छ भन्ने धारणा फैलाइरहेका छन्। प्रहरी सेवामा रहँदा नै अन्तर्राष्ट्रिय मञ्चका कयन कार्यक्रममा नेपाली माटोको भाव, परिचय र पुरस्कार पाएका उनी त्यसलाई चुनावी एजेन्डा होइन, राज्यका नीतिगत तहमा प्रयोग गर्ने सोचमा छन्।
खनाल भन्छन्,‘व्यक्तिगत, जागिरे काममा पाएका अनुभव कुनै आम मानिसको मतका लागि होइन, उसको हितका लागि ठाउँमा पुगेर प्रयोग गर्नुपर्छ। यसकारण जनतासँग प्रेम, उनका भावना र संवेदनाको कसीलाई लिएर केन्द्रमा पुग्ने प्रणमा छु।’अमेरिकाका १६औं राष्ट्रपति अब्राहम लिङ्कनले भनेका थिए– चुनाव जनताको हो। यो उनीहरूको निर्णय हो। यदि तिनीहरूले आगोमा आफ्नो पीठ फर्काउने र आफ्नो पछाडि जलाउने निर्णय गरे भने, तिनीहरू केवल आफ्नो छालामा बस्नुपर्छ।
यसैले पनि तनहुँ–१ का जनताले मतदानका दिन पिठ नफर्काई जिताएर पठाउनेमा एमालेका नेता कार्यकर्ता ढुक्क हुनुमा खनालको शालिनता, बौद्धिकता, कर्तव्यनिष्ठता नै हो। खनाल अरूले महत्वपूर्ण ठानेका कुराहरूद्वारा आफ्नो लक्ष्यहरू तय गर्दैनन्। उनलाई क्षणिक देखाइने हुलको होइन, गोप्य मतपत्रमा जनताले दिने विश्वासप्रति भरोसा छ। यसैले भन्छन्,‘घर–घरका समस्या, विकासका चासो, बेरोजगारीविरुद्धको लडाई कसले गर्न सक्छ भन्नेमा जनता स्पष्ट छन्।
राजनीति सम्भावनाको कला हो, त्यो भन्दा पनि अर्को उत्कृष्ट कला भएकै कारणले खनालले निर्वाचनलाई अँगालेका हुन्। तनहुँका जनताले प्रतिनिधि सभामा आवश्यक उपस्थितिमा अनुमोदन गर्नेमा ढुक्क छन्, खनाल। यसै पनि उनी एउटा कुशल नेतृत्वकर्ताका रुपमा प्राथमिक परिक्षामा उत्तिर्ण भएको प्रमाण अहिलेको प्रहरी संगठन हो।
राजनीतिक कोपभाजनले भत्किएको सांगठनिक संरचनालाई व्यवस्थित मात्र गरेनन्, जनतासँग जोडिने प्रहरी समुदाय कार्यक्रमको स्थापना गरे, जसको प्रभावकारी कार्यान्वयन अहिले उनका उत्तराधिकारीहरूले पनि गरिरहेका छन्। ‘जनतासँग प्रत्यक्ष जोडिने प्रहरीको संगठनलाई अझ प्रभावकारी बनाउन त्यो कार्यक्रम ल्याइएको थियो, अब जनतासँग आफैं जोडिएर राजनीतिमा पनि सुनौला र अवसरका कार्यक्रम ल्याउनु छ’, खनाल भन्छन्,‘फरक परिक्षाका निम्ति म मैदानमा छु। जे छ जसो छ जनता जनार्दनको विश्वासमा नै नीहित छ।’