दमाैली । जिल्ला प्रहरी कार्यालय तनहुँले गाजा र लागुऔषध सहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको आँबुखैरेनी र शुक्लागण्डकीबाट अवैध गाजा र लागुऔषध सहित चार जनालाई शुक्रबार पक्राउ गरेको हो ।
आँबुखैरेनी गाउँपालिका–४ स्थित बेनीटारबाट दश किलो आठ सय ७५ ग्राम गाजा सहित लमजुङको राइनास नगरपालिका–८ का २५ वर्षीय सरोज श्रेष्ठ पक्राउ परेको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए।
मुग्लिनबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग २ ख ६१२ नम्बरको बस जाँच गर्ने क्रममा श्रेष्ठलाई पक्राउ गरिएको प्रनाउ खाँणले बताए। श्रेष्ठले झोलामा लुकाएर राखेको अवस्थामा गाजा बरामद गरिएको प्रहरीले जनाएको छ ।
यस्तै शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा स्थित चुइकुना होटल एण्ड रेष्टुरेण्टबाट लागुऔषध सहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–३० बस्ने ४४ वर्षीय चन्द्रबहादुर गुरुङ, शुक्लागण्डकी नगरपालिका–२ कोत्रे बस्ने ३५ वर्षीय सुरज गुरुङ र दुलेगौडा बस्ने ३४ वर्षीय खिमनारायण श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
उक्त रेष्टुरेण्टमा लागुऔषध कारोवार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट ४३ थान डाइजेपाम, ४३ थान फेनरागन र र ४३ थान नुर्फिन बरामद गरेको छ । साथै नगद रु ११ हजार नौ बरामद गरिएको छ ।
पक्राउ परेका चार जनाविरुद्ध नै अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।