दमौली । नेकपा एमालेका तर्फबाट तनहुँ-१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सर्वेन्द्र खनालले तनहुँमा काम कसरी गर्नुपर्छ आफूले देखाउने बताएका छन् । तनहुँको भानु नगरपालिकामा शनिबार आयोजित घरदैलोका क्रममा खनालले तनहुँको विकासका लागि आफू चुनावी मैदानमा होमिएको भन्दै विकास बाहेक केही स्वार्थ नरहेको बताए ।
तनहुँ क्षेत्र नम्बर १ मा अझै पनि विकासले गति लिन नसकेको भन्दै उनले थपे, ‘तनहुँमा विकास नभएकै हो, विकास भएको भए काम भएन है भनेर भन्नुपर्थेन । पॉच वर्षमा बन्नुपर्ने पुल १५ वर्षसम्म बनेको छैन ।’
प्रहरी महानिरीक्षक हुँदा जसरी सफलतापूर्वक जिम्मेवारी निभाए सांसदमा निर्वाचित भएपछि पनि कुशलतापूर्वक कार्यभार सम्हाल्ने उनले प्रतिबद्धता जनाए ।