दमौली । नेपाली कांग्रेसका महामन्त्री गगन थापा उपनिर्वाचनका सन्दर्भमा दुई पटक तनहुँ आए । अर्का महामन्त्री विश्वप्रकाश शर्मा पनि दुई पटक तनहुँ आएर चुनावी कार्यक्रममा सहभागी भए ।
उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार पनि तनहुँका विभिन्न ठाउँका कार्यक्रममा सहभागी भए । केन्द्रीय सदस्यहरुको त झन् यहॉ लर्को छ । तनहुँ आउन कुनै केन्द्रीय सदस्य बॉकी नहोलान् ।
वैशाख १० गते हुने उपनिर्वाचन नेपाली कांग्रेसका लागि यतिबेला प्रतिष्ठाको विषय बनेको छ । रामचन्द्र पौडेल राष्ट्रपति भएपछि रिक्त रहेको यो ठाउँमा हुन लागेको उपनिर्वाचनका केन्द्रीय सदस्य गोविन्द भट्टराई उम्मेदवार छन् ।
नेकपा एमालेबाट सर्वेन्द्र खनाल र रास्वपाबाट डा. स्वर्णिम वाग्ले भट्टराईका प्रतिस्पर्धी हुन् । यसपटक उपनिर्वाचन रोचक हुँदैछ ।
सोही कारण पनि कांग्रेसले केन्द्रीय नेताहरुलाई तनहुँमा उतारेको छ । बुधबार कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल डुम्रेमा सम्बोधन गर्न आउँदैछन् ।
मंसिरमा सम्पन्न निर्वाचनमा रामचन्द्र पौडेल २५ हजार तीन सय १८ मत ल्याएका थिए । नेकपा एमालेका उम्मेदवार एकबहादुर राना मगरले १९ हजार ९ सय ४३ मत ल्याएका थिए।
स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ६ हजार ८ सय ७८ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विकास सिग्देलले ६ हजार ३२ मत ल्याएका थिए ।