दमौली । तनहुँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि वैशाख १० मा हुन लागेको उपनिर्वाचनका लागि मतगणनास्थल तयार भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समितिको भवनमा मतगणनास्थल निर्माण गरेको हो ।
मतगणनालाई निष्पक्ष र विश्वसनीय बनाउन मतगणनास्थलमा सिसिटिभी जडान गरिएको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार दुईवटा कोठामा मतगणना गरिनेछ । मतगणनास्थलमा तारजालीको व्यवस्था गरिसकिएको छ ।
“तारजालीसहित मतगणनास्थल तयार गरेका छौ, दुवै कोठामा सिसिटिभी जडान भइसक्यो,”, उनले भने । निर्वाचन आयोगले दिएको निर्देशनबमोजिम सुरक्षित रुपमा मतगणनास्थलका लागि गणनास्थल तयार पारिएको बताए । ‘यसबैलाई चित्तबुझ्दो गर्ने गरी भरपर्दो, सुरक्षित बनाउन आयोगले दिएको निर्देशनबमोजिम मतगणनास्थल बनाउँछौ,” उनले भने ।
आइतबार मतदान सकिएपछि सुरक्षितरुपमा सबै मतदान केन्द्रबाट मतपेटिका दमौली ल्याइनेछ । मतपेटिका ल्याइसकेपछि राजनीतिक दलसँगको सर्वदलीय बैठकपश्चात् मतगणनाको काम सुरु गरिनेछ ।