दमाैली । विश्व वातावरण दिवसको अवसरमा तनहुँको म्याग्दे गाउँपालिका–१ स्थित वाराही सामुदायिक वनमा सोमबार वृक्षारोपण गरिएको छ । डिभिजन वन कार्यालय तनहुँ र सामुदायिक वनको संयुक्त आयोजनामा दिवसको अवसरमा विभिन्न प्रजातिका बिरुवा रोपण गरिएको हो ।
त्यसक्रममा सामुदायिक वनको टाईगर हिलमा बहुवर्षीय स्टक नर्सरीका विरुवाहरु पारिजात, म्याङगोस्टिक, कपुर, धुपीका करिब दुई सय बिरुवा रोपिएको सहायक वन अधिकृत काशीराज पण्डितले जानकारी दिए ।
टाईगर हिल पार्क गाउँपालिकाको उत्कृष्ट प्राकृतिक सौन्दर्य रहेको ढुङ्गा पार्कको रुपमा विकास भइरहेको छ । यहाँ मनोरम ढुङ्गाका आकृतिहरु, बेलको रुखमा ग्लास हाउस पर्यटकीय रुख, मानिस विश्रामका लागि गोल घरपाटी रहेको छ ।
पृथ्वी राजमार्गबाट करिब दुई सय मिटर उत्तर तर्फ रहेको उक्त टाईगर हिल पार्कमा जान गाउँपालिकाबाट सिढीबाटो निर्माण सम्पन्न भएको छ ।
पर्यटकीय पार्कको रुपमा उच्च संभावना रहेको टाईगर हिल पार्क वाराही सामुदायिक वनले व्यवस्थापन गरि रहेको छ । यहाँ रक क्लाईम्विङ्ग, ईको पदयात्रा, रक गार्डेनीङ्ग, म्यु टावर, वर्ड वाचिङ्ग हाईकिङ्ग समेतको सम्भावना देखिन्छ ।
वन ऐन र नियमावलीमा समेत सामुदायिक वनले पर्या पर्यटकको लागि पार्क सञ्चालन गर्न सकिने कानुनी प्रावधान रहेको डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले बताए ।
त्यसक्रममा आयोजित कार्यक्रममा डिभिजन वन कार्यालयका प्रमुख काफ्लेले प्लाष्टिकलाई सके बहिष्कार नसके न्यूनीकरण गर्नुपर्नेमा जोड दिए ।
सामुदायिक वन महासंघ (फेकोफोन) तनहुँका अध्यक्ष विष्णुप्रसाद श्रेष्ठले स्थानीय स्तरमा वातावरण संरक्षणको जिम्मा लिएको वन उपभोक्ता समूहले यस्ता प्रदुषण नियन्त्रणका कार्यक्रमको पहल कदमी लिनुपर्ने बताए ।