चितवन । लामो समयदेखि खडेरी परेपछि नारायणगढका युवाहरूले ‘हरहर महादेव पानी देऊदेऊ’ भन्दै बजार परिक्रममा गरेका छन् । उनीहरूले गौरेश्वर पशुपति मन्दिर नारायणगढमा पूजाआजासहित बजार परिक्रममा गरेका हुन् ।
कार्यक्रमका संयोजक मनोज घिमिरेका अनुसार मन्दिरमा पूजा गरेर बाजागाजासहित नारायणगढ बजार परिक्रममा गरिएको हो । लामो समयदेखि पानी नपर्दा जनजीवन प्रभावित बन्दै गएपछि यो कार्यक्रम आयोजना गरिएको उनले बताए ।
हरहर महादेवको पूजा गरेपछि पानी पर्ने विश्वासका साथ पूजा गरी बाजागाजासहित बजार परिक्रममा गरिएको हो । युवाहरूको समूहले बजारको परिक्रममा गरी पुनः मन्दिरमा पुगेर समापन भएको थियो । स्थानीयवासीले आआफ्नो घरबाट पानीले स्वागत गरेका थिए ।
सो क्रममा ‘हरहर महादेव पानी देऊदेऊ, यतिले पुगेन अझै थपिदेऊ’ जस्ता श्लोकहरू गाइएको थियो । लामो समयसम्म पानी नपर्दा जिल्लामा लगाइएका मकै तथा तरकारी बाली सुकेका छन् । यो सँगै जिल्लाको विभिन्न स्थानमा इन्द्र भगवान्को पूजा गरिनुका साथै भ्यागुताको बिहेसमेत गरिएको छ ।