तरकारी लाइनको सटर भाडा ह्वात्तै बढेपछि व्यवसायीको विरोध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तरकारी लाइनको सटर भाडा ह्वात्तै बढेपछि व्यवसायीको विरोध

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । व्यास नगरपालिका-३ तरकारी लाइनस्थित तरकारी लाइनको सटरभाडामा ह्वात्तै वृद्धि गरिएपछि व्यवसायीले विरोध जनाएका छन्। कृषि सामग्री कम्पनीको सटरमा व्यवसाय गर्दै आएका व्यवसायीले एकैपटक ह्वात्तै भाडा वृद्धि भएपछि विरोध जनाएका हुन् ।

    तरकारी व्यवसायी विजय पौडेलले ब्लक ए मा यस अगाडी प्रति महिना दश हजार भाडा तिरिएकामा अहिले २७ हजार पुर्याइएको बताए । ब्लक बीमा प्रति महिना ७ हजार पॉच सय तिरिएकामा यसको पनि २७ हजार बनाइएको उनले बताए । ब्लक सीमा प्रति महिना ११ हजार भाडा रहेकामा त्यसलाई वृद्धि गरी २७ हजार पुर्याइएको उनले बताए ।

    व्यवसायी सुदिप गफ्फारले आर्थिक संकटका कारण व्यवसाय नै धरापमा परिरहेका बेला एक्कासी भाडादर वृद्धि गरिनु न्यायोचित नभएको बताए । ‘नयॉ टेण्डर खुलाएर भाडा बढेको र केही डिपोजिट रकम राख्नुपर्छ भनेर पत्र आयो, त्यो पत्र त हामीलाई धम्की दिए जस्तो लाग्यो,’ उनले भने ।

    उक्त स्थानका ४३ वटा व्यवसायीक सटरहरु २०६२ सालदेखि पोखराको बतास समुहले टेन्डर मार्फत लिएर तरकारी पसल सन्चालन गर्न भाडामा लगाएको थियो । बतास समूहको टेन्डर मिति गत असार ७ गते सकिएको छ । यस अघि नै कृषि सामाग्री कम्पनी लिमिटेडले नयाँ टेन्डर आह्वान गरेकोमा दिनेश बस्नेतको समूहले मासिक ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ तिर्ने गरि उक्त सटर भाडामा लगाउन टेन्डर पारेका थिए ।

    उक्त नयाँ कम्पनीले असार ८ गतेदेखि लागु हुने गरि नयाँ भाडादर कायम गरेको छ । सबै ४३ वटै सटरको दैनिक भाडा ९ सय रुपैयाँ तोकेर असार १५ गतेभित्र सम्झौता गरिसक्न उक्त कम्पनीले व्यवसायीलाई पत्राचार गरेको तरकारी व्यवसायी संघका अध्यक्ष विजय पौडेलले बताए ।

    उक्त कम्पनीले नयाँ सम्झौता गर्दा लाखौं रुपैयाँ धरौटी रकम जम्मा गर्नु पर्ने शर्त राखेको पौडेलले बताए । कम्पनीले व्यवसायीलाई २ प्रकारको धरौटी रकम तोकेको छ । पछि फिर्ता हुने भए ६ लाख रुपैयाँ र फिर्ता नहुने भए ३ लाख ८० हजार रुपैयाँ धरौटी बुझाउनु पर्ने कम्पनीले शर्त राखेको पौडेलले बताए । यस अघि बतास समुहले १० हजार धरौटी रकम लिएर सटर भाडामा लगाएको थियो ।

    अहिले देश आर्थिक संकटमा गुज्रेको कारण व्यवसायीहरु ठुलो मारमा परेको अवस्थामा नयाँ कम्पनीले भाडा दरमा ठुलो रकम बृद्धि गरेको र लाखौं रुपैयाँ धरौटी राख्नु पर्ने शर्त राखेपछि तरकारी व्यवसायीहरु मारमा परेका छन् । व्यवसायीहरु उक्त कम्पनीले राखेको शर्त अनुसार आफुहरु भाडामा लिन तयार नभएको बताउँछन् ।

    २०६२ सालदेखि उक्त स्थानमा व्यवसाय गर्दै आईरहेकोमा अहिले आएर एक्कासी ठूलो रकम भाडामा लगाउने र लाखौं रुपैयाँ धरौटी राख्नुपर्ने प्रावधानले व्यवसायी मारमा पर्ने हुँदा उक्त शर्त मानेर भाडामा लिन आफूहरु तयार नभएको उनीहरुको भनाइ छ ।