दमाैली । सेवा र सुविधाको खोजीमा ग्रामीण भेगका सर्वसाधारण शहर केन्द्रित हुने क्रम बढेको छ । स्वास्थ्य, शिक्षा, रोजगारी लगायतका सेवासुविधा खोज्दै तनहुँका ग्रामीण भेगबाट राजमार्ग केन्द्रित स्थानीय तहमा सर्वसाधारणको बसाइसराइ बढ्दो छ ।
पछिल्लो दश वर्षको अवधिमा जिल्लाका ग्रामीण भेगबाट शहरी क्षेत्रमा बसाइसराइ बढेपछि छ पालिकाको जनसङ्ख्या ऋणात्मक देखिएको छ । दश पालिकामध्ये चार पालिकाको जनसङ्ख्या बढेको छ भने छ पालिकाको जनसङ्ख्या घटेको छ ।
बन्दीपुर गाउँपालिका, भानु नगरपालिका, भिमाद नगरपालिका, देवघाट गाउँपालिका, घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिकाको जनसङ्ख्या पछिल्लो दश वर्षको अधिमा घटेको छ । राजमार्ग आसपास रहेका आँबुखैरेनी गाउँपालिका, व्यास नगरपालिका, म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाको जनसङ्ख्या भनेको बढेको छ ।
बन्दीपुरको माइनस ०.७४, भानुको माइनस ०.६५, भिमादको माइनस ०.६७, देवघाटको माइनस ०.९७, घिरिङको माइनस २.८६ र ऋषिङको माइनस ३.५२ ले जनसङ्ख्या घटेको तथ्याङ्क कार्यालयले जनाएको छ । आँबुखैरेनीमा ०.६६, व्यासमा १.११, म्याग्देमा ०.४५ र शुक्लागण्डकीमा १.३२ ले जनसङ्ख्या बढेको छ ।
बन्दीपुर गाउँपालिकाको जनसङ्ख्या विसं २०६८ मा २० हजार १३ रहेकामा विसं २०७८ को जनगणना अनुसार घटेर १८ हजार पाँच सय ३२ छ । भानु नगरपालिकाको जनसङ्ख्या विसं २०६८ मा ४५ हजार सात सय ९२ रहेकामा विसं २०७८ मा ४२ हजार सात सय ९४ पुगेको छ ।
भिमाद नगरपालिकाको जनसङ्ख्या विसं २०६८ मा ३१ हजार तीन सय ६२ रहेकामा विसं २०७८ मा २९ हजार दुई सय ४८, देवघाट गाउँपालिकाको जनसङ्ख्या विसं २०६८ मा १६ हजार एक सय ३१ रहेकामा विसं २०७८ मा १४ हजार पाँच सय ४८ पुगेको छ । त्यस्तै घिरिङ गाउँपालिकाको जनसङ्ख्या विसं २०६८ मा १९ हजार तीन सय १८ रहेकामा विसं २०७८ मा १४ हजार पाँच सय ८४ र ऋषिङ गाउँपालिकाको जनसङ्ख्या विसं २०६८ मा २५ हजार आठ सय ७० रहेकामा विसं २०७८ मा घटेर १७ हजार नौ सय १८ पुगेको छ ।
आँबुखैरेनी गाउँपालिकाको जनसङ्ख्या विसं २०६८ मा २० हजार सात सय ६८ रहेकामा विसं २०७८ मा बढेर २२ हजार दुई सय ५२ पुगेको छ । व्यास नगरपालिकाको जनसङ्ख्या विसं २०६८ मा ७० हजार तीन सय ३५ रहेकामा विसं २०७८ मा बढेर ७८ हजार नौ सय ३९ पुगेको छ ।
म्याग्दे गाउँपालिकाको जनसङ्ख्या विसं २०६८ मा २२ हजार पाँच सय दुई रहेकामा विसं २०७८ मा बढेर २३ हजार पाँच सय ७८ पुगेको छ । शुक्लागण्डकी नगरपालिकाको जनसङ्ख्या विसं २०६८ मा ४८ हजार चार सय ५६ रहेकामा विसं २०७८ मा बढेर ५५ हजार छ सय २० पुगेको छ ।
सेवा सुविधाका कारण गाउँ छाडेर सर्वसाधारण शहर झर्न थालेपछि ग्रामीण भेगका स्थानीय तहमा जनसङ्ख्या घट्दो क्रममा रहेको तथ्याङ्क कार्यालयका निर्देशक जगुलाल बस्याल बताउँछन् । “ग्रामीण भेगबाट राजमार्ग आसपासका स्थानीय तहमा बसाइसराइ बढेपछि ग्रामीण भेगमा जनसङ्ख्या ऋणात्मक अवस्थामा पुगेको हो,” उनले भने ।
गाउँमा किन जनसङ्ख्या घट्दैछ त्यसतर्फ पालिकाले सोच्नुपर्ने जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले बताउँछन्। उनले भने, “स्थानीय तहले योजना बनाएर जनसङ्ख्या बसाइसराइ गर्ने क्रम रोक्नेतर्फ लाग्नुपर्छ ।” पछिल्लो समय ग्रामण भेगमा पनि सेवा सुविधाको पहुँच पुगिसकेकाले गाउँका जनतालाई गाउँमै रोक्ने योजना ल्याउनेतर्फ स्थानीय तह अग्रसर हुनुपर्ने उनकाे भनाइ छ ।