दमौली । नेकपा माओवादी केन्द्र तनहुँको इन्चार्जमा शैलेन्द्र घिमिरे चयन भएका छन् । पोखरामा सम्पन्न पार्टीको बैठकले इन्चार्ज परिवर्तन गरेको हो ।
पार्टीका केन्द्रीय सदस्य रहेका घिमिरे यसअघि स्याङ्जाको इन्चार्ज थिए । तनहुँ इन्चार्ज रहेका हरिबहादुर चुमानलाई भने जिम्मेवारी तोकिएको छैन ।
पार्टी केन्द्रीय समितिको बैठकले भदौ १६ देखी सञ्चालन गर्ने तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’लाई मध्यनजर गरी जिल्ला इन्चार्जहरुको जिम्मेवारी हेरफेर तथा कार्यक्षेत्र परिर्वतन गरिएको हो ।
पार्टीकै केन्द्रीय सदस्य आशा खनाललाई लमजुङ जिल्लाको इन्चार्ज बनाइएको छ ।
कास्कीको इन्चार्ज रहेका राजकाजी गुरुङ(करण)ले स्याङ्जा जिल्ला इन्चार्जको जिम्मेवारी पाएका छन् । पोखरा महानगरपालिकाको इन्चार्ज रहनुभएका दीपक कोइरालालाई गोरखा जिल्लाको इन्चार्जको जिम्मेवारी दिइएको छ । कास्कीमा नेत्रनाथ अधिकारी(हिमाल) इन्चार्ज तोकिएका छन् ।
पर्वतमा बलावती शर्मा, मनाङमा बुद्धिराम गुरुङ, नवलपुर अमर तमु, , म्याग्दीमा गुप्तबहादुर हमाल, र मुस्ताङमा कपिल लामालाई इन्चार्ज बनाएको छ ।
माओवादी केन्द्र गण्डकी प्रदेशको शनिबार पोखरामा भएको सातौँ पूर्ण बैठकले प्रदेश अन्तर्गतका पालिका तथा वडाहरुमा समेत नेताहरुको जिम्मेवारी तोकिएको जनाएको छ ।माओवादीले अन्तर प्रदेश जिल्ला इन्चार्जहरुको सरुवा गरेको हो ।