विपद् व्यवस्थापनका लागि रु एक करोड बजेट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    विपद् व्यवस्थापनका लागि रु एक करोड बजेट

    खबरपुञ्ज संवाददाता

    १ श्रावण २०७७, शुक्रबार

    दमाैली/तनहुँको व्यास नगरपालिकाले विपद् व्यवस्थापनका लागि रु एक करोड बजेट विनियोजन गरेको छ । वर्षायाममा प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षति न्यूनीकरण र विपद्मा परेकालाई राहत उपलब्ध गराउन उक्त बजेट विनियोजन गरिएको हो ।

    तत्कालिन विपद् व्यवस्थापन गर्नका लागि वडागत विनियोजित बजेटबाट समेत गरी रु एक करोडको विपद् व्यवस्थापन कोष खडा गरिएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । नगरपालिकाले नगरक्षेत्रभित्र पहिराले मृत्यु भएका व्यक्तिको परिवारलाई राहत रकम उपलब्ध गराउने भएको छ । पहिराले ज्यान गुमाएका परिवारलाई जनही रु ५० हजारका दरले राहत रकम उपलब्ध गराउने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

    पहिराले पुरिएर व्यास नगरपालिका–९ माझफाँटका ४० वर्षीया कमला थापा, २४ वर्षीय मनोज थापा, २० वर्षीया अन्जना थापा, सोही वडाकै मोहरियाटारका ७० वर्षीया शुकमाया घर्ती, व्यास नगरपालिका–११ बडहरका ४२ वर्षीय पदम चेपाङको मृत्यु भएको थियो । प्रवक्ता श्रेष्ठका अनुसार पहिराले घाइते भएका व्यक्तिलाई बढीमा रु ४० हजार उपचार खर्च उपलब्ध गराइनेछ । पहिराले पुरिएर व्यास नगरपालिका–९ माझफाँटकै केशरबहादुर थापा, धनुमाया कुंवर, मनबहादुर घर्ती, व्यास नगरपालिका–११ का सुमन भुजेल घाइते भएका छन् ।

    पहिराले पूर्ण घर क्षति भएकालाई रु ५० हजार, आंशिक घर क्षति भएकालाई रु २५ हजारसम्म क्षतिपूर्ति दिने र विस्थापित परिवारको व्यवस्थापनमा सहयोग गर्ने नगरपालिकाले जनाएको छ । नगरपालिकाले तीनदिनभित्र वडाभित्र भएका बाटो, पानी, खेतीबाली, कुलो लगायतको नोक्सानीको विवरण सम्बन्धित वडा कार्यालयबाट सङ्कलन गरी वडाकै समन्वयमा पुनस्थापना कार्य तत्काल प्रारम्भ गर्ने भएको छ ।