विपद्बाट पाँच वर्षमा तनहुँमा ४२ जनाको मृत्यु, रु २९ करोड भौतिक क्षति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    विपद्बाट पाँच वर्षमा तनहुँमा ४२ जनाको मृत्यु, रु २९ करोड भौतिक क्षति

    खबरपुञ्ज संवाददाता

    २० भाद्र २०८०, बिहीबार

    दमाैली । विपद्बाट तनहुँ जिल्लामा पाँच वर्षको अवधिमा ४२ जनाले ज्यान गुमाएका छन् । पहिरो, बाढी, आगलागी, चट्याङ लगायतका विपद्का घटनाबाट पछिल्लो पाँच वर्षको अवधिमा यहाँका ४२ जनाले ज्यान गुमाएको जिल्ला विपद् व्यवस्थापन समिति तनहुँले जनाएको छ ।

    जिल्ला प्रशासन कार्यालयले तयार गरेको विपद् प्रतिकार्य योजनामा उल्लेख भए बमोजिम आर्थिक वर्ष २०७५÷७६ देखि आर्थिक वर्ष २०७९÷८० सम्म ४२ जनाको विपद्बाट मृत्यु भएको छ ।

    आर्थिक वर्ष ०७५÷७६ मा तीन, ०७६÷७७ मा १२, ०७७÷७८ मा १०, ०७८÷७९ मा दुई र आर्थिक वर्ष २०७९÷८० मा १५ जनाले ज्यान गुमाएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए। सोही अवधिमा ६३ जना घाइते भएका थिए ।

    तनहुँ जिल्ला बाढीपहिरा, आगलागी र चट्याङको जोखिममा रहेको छ । वर्षेनी विपद्का घटनाबाट सर्वसाधारणले ज्यान गुमाउने गरेका छन् ।

    पाँच वर्षको अवधिमा विपद्का घटनाबाट रु २९ करोड ५७ लाख ६८ हजार एक सय भौतिक क्षति भएको छ । घर, गोठ, विद्यालय भवन लगायतका संरचना नष्ट हुँदा उक्त क्षति भएको हो ।

    विपद् व्यवस्थापन समितिका अनुसार आर्थिक वर्ष ०७५÷७६ मा २४ घर, सात गोठ, अन्य चार संरचनामा क्षति पुग्दा रु रु ९९ लाख क्षति भएको छ ।

    आर्थिक वर्ष ०७६÷७७ मा एक सय ३४ घर, ३८ गोठ, २० अन्य र एक विद्यालयमा क्षति पुग्दा रु एक करोड ७४ लाख पाँच हजार सात सयको क्षति भएको छ ।

    आर्थिक वर्ष ०७७÷७८ मा एक सय ५१ घर, २९ गोठ, १९ अन्य, दुई सरकारी कार्यालय र तीन विद्यालयमा क्षति पुग्दा रु चार करोड १६ लाख दश हजार बराबरको क्षति भएको छ ।

    आर्थिक वर्ष ०७८÷७९ मा ३९ घर, आठ गोठ, अन्य ३२ संरचनामा क्षति पुग्दा रु १८ करोड ९० लाख ७५ हजारको क्षति भएको विपद् व्यवस्थापन समितिले जनाएको छ ।

    आर्थिक वर्ष ०७९÷८० मा ६० घर, १४ गोठ, अन्य २२ संरचनामा क्षति पुग्दा रु रु तीन करोड ७७ लाख ७७ हजार चार सय क्षति भएको विपद् व्यवस्थापन समितिले जनाएको छ ।

    समितिले विभिन्न प्रकोपहरुका कारण सामाजिक तथा मानवीय जीवनमा आइपर्ने विपद्लाई थेग्न तथा हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न अति आवश्यक भएकाले प्रत्येक वर्ष विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण गरी कार्यान्वयमा ल्याएको छ ।

    विपद्ले समुदायको आर्थिक, सामाजिक तथा मानवीय जीवनमा पु¥याउन सक्ने क्षतिलाई न्यूनीकरण गरी विपद्पछि छिटोभन्दा छिटो पूर्ववत अवस्थामा ल्याउन प्रतिकार्य योजना प्रभावकारी हुने विश्वास गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

    तनहुँ जिल्ला बाढी पहिरोको उच्च जोखिममा छ । जिल्लाका दशवटै पालिका बाढी, पहिरो, आगलागी, चट्याङ जस्ता विपद्को जोखिममा रहेको हो । जिल्ला प्रशासन कार्यालय तनहुँका अनुसार दश पालिकाका अधिकांश वडाहरु बाढी पहिरोको जोखिममा रहेका छन् ।

    पहिरोको प्रकोपको आधारमा व्यास नगरपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका, बन्दीपुर गाउँपालिका, घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र म्याग्दे गाउँपालिका उच्च जोखिममा रहेको छ । बाढीको प्रकोपको आधारमा भानु नगरपालिका र देवघाट गाउँपालिकाका उच्च जोखिममा छ ।

    कार्यालयका अनुसार व्यास नगरपालिकाको वडा नम्बर १, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १३ सम्म र १४ का ६२ टोल बस्ती पहिरोको उच्च जोखिममा छ । भानु नगरपालिकाको वडा नम्बर ४, ५, ६ र ७ का टोलबस्ती, भिमाद नगरपालिकाको वडा नम्बर ३, ५, ७, ८ र ९, शुक्लागण्डकी नगरपालिकाको वडा नम्बर ९ र १०, देवघाट गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४, बन्दीपुर गाउँपालिकाको वडा नम्बर १, २, ४ र ५ का दश बस्ती, घिरिङ गाउँपालिकाको वडा नम्बर २, ३, ४ र ५ का दश बस्ती, ऋषिङ गाउँपालिकाको वडा नम्बर १, २, ३, ६, ७ र ८, आँबुखैरेनी गाउँपालिकाको वडा नम्बर ४, ५, ६ र म्याग्दे गाउँपालिकाको वडा नम्बर १ देखि ७ सम्मका बस्ती पहिरोको जोखिममा छ ।

    यसैगरी व्यास नगरपालिकाको वडा नम्बर १, २, ३, ६, ८, ९, ११ र १३ का ४७ बस्ती, भानु नगरपालिकाको वडा नम्बर १, २, ५, ६, ७, ११, १२ र १३ का बस्ती, भिमाद नगरपालिकाको वडा नम्बर १ को दुई बस्ती, शुक्लागण्डकी नगरपालिकाको वडा नम्बर ४ र ८ को बस्ती, देवघाट गाउँपालिकाको वडा नम्बर १ देखि ५ अन्तर्गतका नदी तटीय क्षेत्र बाढीको जोखिममा छ ।

    बन्दीपुर गाउँपालिकाको वडा नम्बर ६ को सामीकोट क्षेत्र, घिरिङ गाउँपालिकाको वडा नमबर १ को कालीगण्डकी, मैदीखोला र सिरिङ्दी क्षेत्र किनारका बस्ती, ऋषिङ गाउँपालिकाको वडा नम्बर १, ३, ४, ५, ७ र ८ का झापुटार र बेलटारका नदी किनारका बस्ती, आँबुखैरेनी गाउँपालिकाको वडा नम्बर २, ४, ५, ६ का बस्तीहरु, म्याग्दे गाउँपालिकाको वडा नम्बर ३ र ६ को अकला क्षेत्र बाढीको उच्च जोखिममा छ ।

    यो योजनाले मनसुनका कारण उत्पन्न हुने जोखिमको पूर्वानुमान गरी न्यूनीकरणमा सहयोग पुग्ने, राहत सङ्कलन एवं उद्धारका लागि सरकारी एवं गैरसरकारी निकायहरुको अधिकतम परिचालन हुने, मनसुनको कारण उत्पन्न हुन सक्ने विपद्मा प्रतिकार्यका लागि सम्बद्ध निकायहरु तयारी अवस्थामा रहनेछन् ।