एकदिवसीय विश्वकप आजदेखि, पहिलो खेलमा इंग्ल्याण्ड र न्यूजिल्याण्ड भिड्दै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    एकदिवसीय विश्वकप आजदेखि, पहिलो खेलमा इंग्ल्याण्ड र न्यूजिल्याण्ड भिड्दै

    खबरपुञ्ज संवाददाता

    १७ आश्विन २०८०, बिहीबार

    काठमाडौ । आइसिसी एकदिवसीय विश्वकप क्रिकेट आजदेखि भारतमा सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा गत विजेता इंग्ल्याण्ड र उपविजेता न्यूजिल्याण्ड प्रतिस्पर्धा गर्दैछन् ।  

    इंग्ल्याण्ड र न्यूजिल्याण्डबीचको खेल दिउँसो २ः१५ देखि अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा सुरु हुनेछ । दुवै टोली जितका साथ प्रतियोगिताको सुरुवात गर्ने योजनामा छन् । यसपटक इंग्ल्याण्डको टोलीको कप्तानी विकेटकिपर जोस बटलरले गर्दैछन् । 

    सन् २०१९ मा विश्वकप जित्दा इंग्ल्याण्डको कप्तानी इयोन मोर्गनले गरेका थिए । उनले संन्यास लिएपछि बटलरले इंग्लिस टोलीको कप्तानी पाएका हुन् । न्यूजिल्याण्ड टिमको कप्तानी भने केन विलियम्सनले नै गर्नेछन् ।

    चोटका कारण लामो समयदेखि विश्राम गरिरहेका विलियम्सन यही विश्वकपबाट मैदान फर्कंदै छन् । उनी गत आइपिएलमा फिल्डिङका क्रममा घाइते भएका थिए ।लामो समयपछि मैदानमा देखिन लागे पनि विलिम्यसन लयमा छन् ।

    उनले विश्वकपको दुवै वार्मअप खेलमा अर्धशतकीय पारी खेलेका थिए ।

    इंग्ल्याण्ड र न्यूजिल्याण्डबीच हेड टु हेडको कुरा गर्दा हालसम्म यी दुई टिमले ९५ एकदिवसीय खेल खेलेका छन् । जसमा इंग्ल्याण्डले ४५ तथा न्यूजिल्याण्डले ४४ खेल जितेको छ । 

    यस्तै, दुई खेल टाइ हुँदा चार खेल भने नतिजाविहीन भएका छन् । पछिल्लो समय न्यूजिल्याण्डविरुद्ध इंग्ल्याण्ड हाबी देखिन्छ । सन् २०१९ यता खेलिएका पाँच खेलमध्ये इंग्ल्याण्डले न्यूजिल्याण्डलाई तीन खेलमा हराएको छ । 

    हालै भएको न्यूजिल्याण्डविरुद्धको तीन खेलको एकदिवसीय सिरिज इंग्ल्याण्डले ‘क्लिन स्विप’ गरेको थियो । ऊ आज पनि न्यूजिल्याण्डविरुद्ध अपराजित यात्रा कायम राख्न चाहन्छ । न्यूजिल्याण्ड भने २०१९ को विश्वकप फाइनलको हार बदला लिँदै उत्कृष्ट कमब्याक गर्ने सोचमा छ ।