भूकम्प अपडेट : १३३ जनाको मृत्यु, १८५ घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    भूकम्प अपडेट : १३३ जनाको मृत्यु, १८५ घाइते

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडाै । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय ३३ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी एक सय ८५ जना घाइते भएका छन् । सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा ९५ जनाको तथा रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ ।

    घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज तथा अन्य ठाउँमा लैजाने क्रम जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहानै प्रभावित क्षेत्रमा पुगेर उद्धारको पहलमा जुटिरहेका छन् । उनी चिकित्सक टोली र राहतसामग्रीसहित प्रभावित क्षेत्रमा पुगेका हुन् ।

    नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुटेको छ । प्रभावित क्षेत्रमा यसका लागि एक हजार पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । यसैबीच भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाले उद्धार तथा राहतका लागि पाँचवटा हेलिकप्टर तथा जहाजको प्रयोग गरेको छ ।

    नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार ३३ घाइतेको जिल्ला अस्पताल जाजरकोट र रुकुम पश्चिमबाट हेलिकप्टरमा उद्धार गरी उपचारका लागि नेपालगञ्ज लगिएको छ । राहत तथा उद्धारका लागि चिकित्सकसहितको टोली घट्नास्थलमा पु¥याउने काम भइरहेको प्रवक्ता भण्डारीले जानकारी दिए। काठमाडौँ, सुर्खेत र नेपालगञ्जमा चिकित्सकसहितको टोली तयारी अवस्थामा राखिएको उनले बताए ।

    गए राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भुकम्प गएको थियो । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको छ । –––