दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावरहाउस नजिक मंगलबार बिहान बोलेरो जीप दुर्घटना हुँदा पाँच जना घाइते घाइते भएका छन् ।
आँबुखैरेनीतर्फबाट मुग्लिन जाँदै गरेको बा १७ च ७९६० नम्बरको बोलेरो जीप सडकबाट एक सय ५० मिटर तल मस्र्याङ्दी नदी किनारमा खस्दा जीपमा सवार पाँच जना घाइते भएका हुन् ।
दुर्घटनामा चालक सहित पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए । दुर्घटनाका घाइतेलाई नेपाली सेनाको कालीभञ्जन गण (इ) सुरक्षा पोष्ट र इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरी टोलीले उद्धार गरेको छ ।
दुर्घटनामा घाइते हुनेहरुमा जीप चालक कैलाली धनगढी नगरपालिका–४ बस्ने २७ वर्षीय दयाराम राना, सुर्खेको वीरेन्द्र नगरपालिका–६ बस्ने २८ वर्षीय थानेश्वर भट्टराई, सोही ठाउँका २८ वर्षीय निवस खत्री, दार्चुलाको महाकाली नगरपालिका–५ बस्ने २४ वर्षीय राकेश भट्ट र कैलालीको गोदावरी नगरपालिका–३ बस्ने ३० वर्षीय खगेन्द्रराज पनेरु रहेको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये खगेन्द्रराजको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ भने बाँकी चार जनाको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।