ऋषिङ अल्ट्रा म्याराथनमा त्रिभुवन आर्मी क्लवको बर्चस्व
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    ऋषिङ अल्ट्रा म्याराथनमा त्रिभुवन आर्मी क्लवको बर्चस्व

    खबरपुञ्ज संवाददाता

    २६ पुष २०८०, शुक्रबार

    दमाैली । तनहुँको ऋषिङ गाउँपालिकाले शुक्रबार आयोजना गरेको तेस्रो ऋषिङ अल्ट्रा म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लवका गोविन्द कार्कीले जितेका छन्। निर्धारित ४३ किलोमिटर दूरी २ घण्टा ५९ मिनेट ४० सेकेण्डमा पूरा गर्दै कार्कीले उपाधि जितेका हुन् ।

    प्रतियोगितामा त्रिभुवन आर्मी क्लवकै गोपाल तामाङ द्वितीय भएका छन् । उनले उक्त दूरी तीन घण्टा ४६ सेकेण्डमा पूरा गरे । त्यस्तै त्रिभुवन आर्मी क्लवकै तिलकबहादुर सुनुवार तृतीय भए । उनले उक्त दूरी तीन घण्टा तीन मिनेट १२ सेकेण्डमा पूरा गरे।

    प्रतियोगितामा काठमाडौका करण रावल चौथो, बैतडीका मोहनदेव जोशी पाँचौ, त्रिभुवन आर्मी क्लवका जुनेश खड्का छैटौ र सशस्त्र प्रहरी क्लवका निरोज भट्ट सातौभएका छन्। उनीहरुले उक्त दूरी क्रमशः तीन घण्टा आठ मिनेट २९ सेकेण्ड, तीन घण्टा नौ मिनेट २१ सेकेण्ड, तीन घण्टा नौ मिनेट ३४ सेकेण्ड र तीन घण्टा ५४ मिनेट ३९ सेकेण्डमा पूरा गरेका छन् ।

    प्रतियोगितामा प्रथम हुनेलाई रु ६५ हजार (कर बाहेक), द्वितीय हुनेलाई रु ४० हजार (कर बाहेक), तृतीय हुनेलाई रु २५ हजार (कर बाहेक) र सान्त्वना हुने चार जनालाई रु पाँच हजार पुरस्कार प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिनबहादुर रानाभाटले जानकारी दिए। प्रतियोगितामा ३२ धावकको सहभागिता रहेको थियो ।

    धारुङ भञ्ज्याङबाट सुरु हुने दौड रानीपोखरी, गाउँपालिकाको कार्यालय, अर्खलाछाप, काफलडाँडा, पुरानो ऋषिङ, पोखरीभञ्ज्याङ, गोठादी, ढुङ्गाडे, चालिसे, भिरकोट, अर्चल्दी, मौरीबास, दाङसिरी, दुवुङकोट पुगेर टुङ्गिएको थियो ।

    ऋषिङमा रहेका पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने उद्धेश्यसहित म्याराथन आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए।

    गत वर्ष आयोजित प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लवका तीर्थराज तामाङले जितेका थिए । उक्त दूरी उहाँले दुई घण्टा ५१ मिनेट २५ सेकेण्डमा पार गरेका थिए। त्यस्तै प्रतियोगितामा त्रिभुवन आर्मी क्लवकै देवराज महतारा द्वितीय (दुई घण्टा ५४ मिनेट २५ सेकेण्ड) र सोलुखुम्बुका सुमन कुलुङ राई तृतीय (तीन घण्टा पाँच मिनेट ४६ सेकेण्ड) भएका थिए ।

    तस्वीर : विवेक श्रेष्ठ