नारायणगढ–मुग्लिन सडकखण्डका तीन पुल सञ्चालनमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नारायणगढ–मुग्लिन सडकखण्डका तीन पुल सञ्चालनमा

    खबरपुञ्ज संवाददाता

    १ माघ २०८०, मंगलवार

    चितवन । नारायणगढ–मुग्लिन सडकखण्डका तीन पुल सञ्चालनमा आएका छन् । रिग्द्धी, खोर र भोर्ले खोलामा निर्माण सम्पन्न भएका पुल आजदेखि सञ्चालनमा आएका हुन् । यससँगै तीनवटै पुल भएर गाडी गुड्न थालेको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले जानकारी दिए ।

    उनले पुलमा एक तह कालोपत्रको काम बाँकी रहे पनि गाडी गुड्न थालेको बताए। आचार्यका अनुसार सडकखण्डका १२ पुल सञ्चालनमा आइसकेका छन् । १९ पुलमध्ये पहिलो चरणमा चार पुल निर्माण भएका हुन् । पछिल्लो प्याकेजका १५ पुलमध्ये आठवटा पुल निर्माण सम्पन्न भएका छन् । थप चार पुल दुई महिनाभित्र निर्माण सम्पन्न हुने आचार्यले जानकारी दिए।

    सडकखण्डको भरतपुर महानगरपालिकामा रहेका सबै पुल चैतभित्र निर्माण सम्पन्न हुनेछन् । यो प्याकेजको अन्तिम म्याद चैत मसान्तसम्म रहेको आयोजना इन्जिनीयर विजय दराईले जानकारी दिए । आठ पुलमध्ये तीन पुल निर्माणको काम बाँकी छ । जुगेडी, खहरे र सिमलतालको पुल दुई महिनाभित्र निर्माण सम्पन्न हुने दराईले बताए।

    इच्छाकामनातर्फको पुल निर्माणका लागि एक वर्षको म्याद छ । सात पुलमध्ये दुई पुल सञ्चालनमा आइसकेका छन् । दुई पुलबाहेक सबै असारसम्ममा निर्माण सम्पन्न हुने गरी काम भइरहेको दराईले बताउनुभयो । खहरे खोलाको पुल निर्माणको काम भइरहेको छभने तुइन खोलामा अहिले पुल निर्माणका लागि दिउँसोको समयमा सडक बन्द गरेर पहाड फोर्ने काम भइरहेको छ । अहिलेसम्म १५ मिटर पहाड काटिसकिएको छ ।

    थपिएको समयमा अधिकांश काम सक्नेगरी काम भइरहेको आयोजनाले जनाएको छ । यस सडकखण्डमा २०७६ साल चैतदेखि १५ पुल निर्माणको जिम्मा अनक कन्स्ट्रक्सनले लिएको थियो । विश्व बैङ्कको सहयोगमा पुल निर्माण गरिएका हुन् । यो सडक हुँदै दैनिक १० हजार हाराहारी सवारी साधन आवागमन हुने गर्छ । तराईबाट राजधानी प्रवेश र बाहिरिने यो मुख्य सडक हो । केही वर्षअघि सडक विस्तार गरिएपछि पुल फराकिलो बनाइएको हो । –––