तनहुँको विकासमा सांसद श्रेष्ठको चासो, बागेश्वरी मार्गलाई चार करोड विनियोजन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँको विकासमा सांसद श्रेष्ठको चासो, बागेश्वरी मार्गलाई चार करोड विनियोजन

    खबरपुञ्ज संवाददाता

    ११ माघ २०८०, शुक्रबार

    दमाैली । तनहुँको व्यास नगरपालिकाको घाँसीकुवादेखि भानु नगरपालिकाको पड्केपसल जोड्ने बागेश्वरी मार्गका लागि सांसद कृष्णकुमार श्रेष्ठको पहलमा रु चार करोड बजेट विनियोजन भएको छ । यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट रु एक करोड बजेट विनियोजन भइसकेकामा सांसद श्रेष्ठको पहलबाट थप गरी रु तीन करोड बजेट विनियोजन भएको हो ।

    घाँसीकुवा, मूलपानी, मान्द्रे हुँदै पड्केपसल पुग्ने बागेश्वरी मार्गको स्तरोन्नतिका लागि रु एक करोड बजेट अपुग हुने भएकाले सांसद श्रेष्ठले थप रु तीन करोड रकम स्रोत सुनिश्चितताका लागि मन्त्रालयको ध्यानाकर्षण गराएका थिए । सांसद श्रेष्ठको आग्रहपछि अर्थ मन्त्रालयले भौतिक मन्त्रालयलाई बिहीबार पत्र लेख्दै उक्त मार्गका लागि स्रोत सुनिश्चिता एवं सहमति प्रदान गरेको जनाएको छ ।

    बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य श्रेष्ठले तनहुँ आफ्नो गृहजिल्ला भएकाले यहाँको विकासमा सदैव चासो लिने बताए । उनले भने, “म यसअघि तनहुँको सांसद भइसकेको र गृहजिल्ला भएकाले यहाँका जनताले विकास निर्माणका लागि मलाई अनुरोध गर्दै आएका छन् । निर्वाचन क्षेत्र मेरो बारा भएपनि बारासँगै तनहुँलाई पनि उत्तिकै प्राथमिकता दिएर काम गर्दै आएको छु ।”