पत्रपत्रिकाबाट – कुनै लेनदेन भएको छैन, पार्टी बनाउन लाग्छु : पिएल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पत्रपत्रिकाबाट – कुनै लेनदेन भएको छैन, पार्टी बनाउन लाग्छु : पिएल

    खबरपुञ्ज संवाददाता

    २ फाल्गुन २०८०, बिहीबार

    दमौली । मंगलबार नेकपा एमालेमा फर्किएका नेकपा एकिकृत समाजबादीका पोलिट्व्युरो सदस्य तथा गन्डकी प्रदेश कमिटिका सचिव प्रतापलाल श्रेष्ठ बुधबार दिनभर व्यास नपा ३ स्थित एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठानको भवनमा रहेको नेकपा एकिकृत समाजबादीका नेता तथा कार्यकर्तासँग छलफलमा बसे । एमालेका अध्यक्ष केपी शर्मा ओलीको हातबाट टिका र खादा लगाएर पुनः एमालेमा फर्केको घोषणा गरेका श्रेष्ठ बुधबार राती नै दमौली आएका थिए ।

    नेकपा एकिकृत समाजबादीको कार्यालयमा सो पार्टीका नेता तथा कार्यकर्ताहरुसँग श्रेष्ठले अव सबै जना एमालेमै जानु पर्ने भन्दै उनीहरुलाई सम्झाउन थालेका थिए । अर्का प्रभावशाली नेता शंकरनारयण श्रेष्ठसँगै पिएल श्रेष्ठ पनि एमालेमा फर्किएपछि धेरैले अचम्म मानेका थिए । किनकी पिएल श्रेष्ठ तत्कालिन नेकपा एमाले वा नेकपा कालमा समेत हाल नेकपा एकिकृत समाजबादीका अध्यक्ष माधव नेपालको पक्षका नेता थिए । सोही कारण उनको एमाले फिर्तिलाई धेरैले अचम्म मानेका थिए । श्रेष्ठ एमालेमा फर्किने बारेमा श्रेष्ठ निकट समाजबादीका जिल्ला स्तरीय नेताहरुलाई पनि कुनै सुइँको पनि थिएन । एमालेका नेताहरुले पनि दिउँसो फेसबुकबाट नै थाह पाएका थिए ।

    सोही कारण आफुसँग गुनासो गरेका नेता तथा कार्यकर्ताहरुलाई सम्झाउँदै श्रेष्ठले अव एमालेमा जानुको कुनै विकल्प नभएको बताए । नेकपा एकिकृत समाजबादी काँग्रेस र माओवादी केन्द्रको भरिया मात्र भएको भन्दै अव कम्युनिष्ट आन्दोलनको रक्षाकोलागि एमालेमा जानुको विकल्प नभएको बताएका थिए । श्रेष्ठले नेकपा एकिकृत समाजबादीको सिङ्गो जिल्ला कमिटि नै एमालेमा समाहित गराउने बारेमा छलफल सुरु गरेका छन् ।

    लोकवाणीसँग कुरा गर्दै श्रेष्ठले अव नेकपा एकिकृत समाजबादीको जिल्ला कमिटि नै समाजबादीमा बिलय गराउने बारेमा आफुले बुधबार दिनभर पार्टी कार्यालयमा नेताहरुसँग छलफल गरेको बताए । केही दिनभित्रैमा रिजल्ट आउने भन्दै धेरै भन्दा धेरै कार्यकर्तालाई अव एमालेमा ल्याउने बताए ।

    नेकपा एसका जिल्ला कमिटिका अध्यक्ष काजिमान श्रेष्ठलाई जानकारी गराएर नै आफुहरु एमालेमा फर्किएको दावी गर्दै प्रतापलाल श्रेष्ठले जिल्ला अध्यक्ष काजिमान श्रेष्ठ पनि एमालेमा फर्किने बारेमा सकारात्मक रहेको बताए ।

    आफुहरु एमालेमा आउँदा कुनै लेनदेनको सम्झौता नगरेको श्रेष्ठले दाबी गरे । ‘एमालेको नेतृत्वसँग पदिय लेनदेन र जिम्मेबारीको बारेमा कुनै सम्झौता भएको छैन’ श्रेष्ठले भने ‘पार्टीले जुन जिम्मेबारी दिन्छ, त्यही अनुसार काम गर्ने हो ।’ अब एमालेलाई तनहुँमा पहिलो पार्टी बनाउने गरि काम गर्ने श्रेष्ठले बताए ।

    श्रेष्ठ एमालेमा रहँदा पनि कुशल संगठक मानिन्थे । उनले एमाले तनहुँको दुई कार्यकाल पार्टी प्रमुखको जिम्मेबारी समेत सम्हालेका थिए । श्रेष्ठद्वयको एमाले फिर्तिसँगै नेकपा एस तनहुँमा थप कमजोर भएको छ भने जिल्ला कमिटि नै बिलय हुने अवस्था सिर्जना भएको छ । (लोकवाणी दैनिकमा आज प्रकाशित समाचार)