दमौली । जेसिआइ व्यास नगरले ३०औँ स्थापना दिवस तथा राष्ट्रिय प्रजातन्त्र अवसरमा सोमबार एक मन्दिरलाई सरसफाई सामाग्री सहयोग गरेको छ । व्यास–१३ स्थित सिद्धकालिका मन्दिर परिसरमा एक कार्यक्रमको आयोजना गरि मन्दिरलाई कुचो, डस्टबिन लगायतका सफाई सामग्री हस्तान्तरण गरिएको हो ।
जेसिआइ व्यास नगरका अध्यक्ष नविन पुरीको अध्यक्षतामा भएको कार्यक्रममा व्यास–१३का वडाध्यक्ष बसन्त आले प्रमुख अतिथि रहेका थिए । सो अवसरमा बोल्दै आलेले मन्दिर क्षेत्रको फोहोर व्यवस्थापनमा सामग्री उपयोगी हुने बताए। साथै मन्दिर सार्वजनिक क्षेत्र भएकाले जथाभावि फोहोर नगर्न पनि उनले सबैलाई अनुरोध गरे ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बिष्णुहरि सेढाईले सहयोग प्रति आभार व्यक्त गर्दै प्राप्त सामाग्रीको सदुपयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
सो अवसरमा नेपाली कांग्रेस वडा नं १३का सभापति रेशम बिक, वडा सदस्यहरु कमला घर्ती, हरिचन्द्र पन्थ, मधुमाया बिक, स्थानीय बिष्णु थापा, जेसिआइ व्यास नगरका पुर्व अध्यक्ष रमेश गिरी लगायतले बोलेका थिए ।
संस्थाका कार्यकारी उपाध्यक्ष पुर्ण शदाशंकरले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव सनम अधिकारीले गरेका थिए ।
स्थापना दिवसकै अवसरमा आज व्यास ४ कृष्णपुर स्थित जेसिआइ व्यास नगरको सचिवालयमा पुर्व अध्यक्षहरुसँग अन्तरक्रिया तथा दीप प्रज्वलन कार्यक्रम गर्ने तयारी गरेको अध्यक्ष पुरीले जानकारी दिए ।