तनहुँको आँबुखैरेनीमा नमूना युवा संसद अभ्यास सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    तनहुँको आँबुखैरेनीमा नमूना युवा संसद अभ्यास सुरु

    खबरपुञ्ज संवाददाता

    २१ बैशाख २०८१, शनिबार

    दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकामा नमूना युवा संसद अभ्यास तथा नमूना गाउँ सभा प्रशिक्षण सुरु भएको छ । ‘समृद्ध नेपालका लागि स्वस्थ कर्मठ र उद्यमी युवा’ भन्ने मूल नाराका साथ युवाको हकहितको संरक्षण र सम्बद्र्धन गरी समुन्नत आँबुखैरेनी तथा समुन्नत मुलुक निर्माण गर्ने उद्धेश्य अनुरुप प्रशिक्षण सञ्चालन गरिएको हो ।

     शुक्रबारदेखि सुरु प्रशिक्षण चार दिनसम्म सञ्चालन हुने गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । चुमानले सक्षम नागरिक तयार गर्ने, आँबुखैरेनीको विकासका लागि युवाहरुलाई सबल, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउँदै सार्थक सहभागिता सुनिश्चित गरी गाउँपालिकालाई आधुनिक, न्यायपूर्ण र समृद्ध बनाउने उद्धेश्यसहित कार्यक्रम आयोजना गरिएको बताए ।  

    कार्यक्रममा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले परिषद्को सशर्ततर्फको कार्यक्रम अन्तर्गत गाउँपालिकामा पनि नमूना अभ्यास गराइएको बताए । युवाहरुमा उद्यमशीलता र नेतृत्व विकास गरी देशको नेतृत्व लिन सक्ने जनशक्ति उत्पादनमा कार्यक्रमले सहयोग पुग्ने उनको भनाइ थियो ।

     प्रशिक्षणमा शिक्षा विकास तथा समन्वय इकाइका निमित्त इकाइ प्रमुख विश्वप्रकाश रेग्मी, राष्ट्रिय युवा परिषद्का पूर्व प्रमुख प्रशासकीय अधिकृत रमाकान्त शर्मा तथा अनुप घिमिरेले सहजीकरण गर्नेछन् ।