घर आएर स्याङ्जा फर्किएका प्रहरीमा कोरोना पुष्टि भएपछि …
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    घर आएर स्याङ्जा फर्किएका प्रहरीमा कोरोना पुष्टि भएपछि …

    खबरपुञ्ज संवाददाता

    १३ श्रावण २०७७, बुधबार

    तनहुँ । तनहुँको व्यास नगरपालिका–१० घर भई जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत प्रहरी जवानलाई कोरोना पुष्टि भएपछि यहाँ उच्च सतर्कता अपनाइएको छ ।
    केही दिन अगाडी घर आएर स्याङ्जा फर्किएका प्रहरी जवानलाई कोरोना सङ्क्रमण देखिएपछि वडा कार्यालयले वडाका सम्पूर्ण काम बुधबारदेखि बन्द गरेको छ । वडाध्यक्ष तुलसीराम सापकोटाले ती युवाले घर आएर धेरै जनासँग भेटघाट गरेकाले सतर्कताका लागि वडा कार्यालयको काम बन्द गरिएको र सबैलाई सुरक्षित रुपमा बस्न भनिएको जानकारी दिनुभयो ।

    “घर आएर स्याङ्जा फर्किएपछि ती युवामा कोरोना पुष्टि भयो, त्यसपछि यहाँ किसिमको सन्त्रास फैलिएको छ,” सापकोटाले भन्नुभयो, “ती युवा समुदायमा पनि धेरै नै घुमेको पाइयो ।” हजुरआमाको श्राद्धमा आएका उनले दुम्सीमा पुगेर दिदी भिनाजुसँग पनि भेटेको खुलेको छ ।

    ती युवाको सम्पर्कमा आएका सबैको कन्ट्याक्ट ट्रेसिङ शुरु गरिएको र सबैको स्वाब परीक्षण गरिने सापकोटाले जानकारी दिनुभयो । कोरोना पुष्टि भएका युवा स्याङ्जा जिल्लामा आइसोलेशनमा छन् । “ती युवाका परिवारलाई पनि होम आइसोलेशनमा बस्न भनेका छौ,” सापकोटाले भन्नुभयो ।