ऑबुखैरेनीमा संस्थागत विद्यालयका ३७१ लाई छात्रवृत्ति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनीमा संस्थागत विद्यालयका ३७१ लाई छात्रवृत्ति

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । तनहुँको ऑबुखैरेनी गाउँपालिकाका तीन सय ७१ विद्यार्थीले छात्रवृत्ति पाएका छन् । गाउँपालिका मातहत रहेका संस्थागत विद्यालयका २८७२ विद्यार्थीमध्ये ३७१ जना छात्रवृत्तिबाट लाभान्वित भएका छन् ।

    संस्थागत विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्तिमा समान अवसर प्रदान गर्नको लागि गाउँपालिका अन्तर्गतका संस्थागत विद्यालयहरुले यही जेष्‍ठ १५, १८ र १९ गते सञ्चालन गरिएको छात्रवृत्ति वितरण परीक्षाबाट गाउँपालिका अन्तर्गतका संस्थागत विद्यालयमा अध्ययनरत ती विद्यार्थी लाभान्वित भएको अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

    उनले भने, ‘ यस छात्रवृत्ति वितरण परीक्षाले विद्यालयद्वारा प्रदान गरिदै आएको छात्रवृत्तिलाई अझै पारदर्शी बनाउने अपेक्षा गरिएको छ । साथै आगामी वर्ष यसलाई अझै व्यवस्थित बनाइनेछ ।’

    नेपालको संविधानको धारा ३१ मा शिक्षा सम्बनधी हक अन्तर्गत “प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुनेछ” भने बमोजिम तथा स्थानीय सरकार सञ्चालन ऐनले आधारभूत तथा माध्यमिक शिक्षाको अधिकार स्थानीय तहलाई दिएको हुँदा यसको व्यवस्थापन गर्ने जिम्मा स्थानीय सरकारमा भएकोले यस गाउँपालिका अन्तर्गतका संस्थागत विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्तिमा समान अवसर प्रदान गर्ने प्रयास गरिएको चुमानले उल्लेख गरे ।

    अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ तथा आँबुखैरेनी शिक्षा ऐन तथा नियमावली, २०७९ ले तोके बमोजिम ५०० सम्मको विद्यार्थी संख्या भएका विद्यालयहरुले १०%, विद्यार्थी संख्या ५०० देखि ८०० सम्म भएका विद्यालयले १२% र विद्यार्थी संख्या ८०० भन्दा माथि भएका विद्यालयले १५% छात्रवृत्ति अनिवार्य रुपमा प्रदान गर्नुपर्ने उल्लेख छ ।