गाउँ फर्कोदय माविमा ढुंगा गिट्टी उत्खनन् प्रकरण : शुक्लागण्डकी नगर कार्यपालिकाको भइसकेको निर्णय नै परिवर्तन !
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गाउँ फर्कोदय माविमा ढुंगा गिट्टी उत्खनन् प्रकरण : शुक्लागण्डकी नगर कार्यपालिकाको भइसकेको निर्णय नै परिवर्तन !

    खबरपुञ्ज संवाददाता

    २२ श्रावण २०८१, बुधबार

    दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिकाले कार्यपालिका बैठकबाट गरेको निर्णय नै परिवर्तन भएको खुलासा भएको छ । शुक्लागण्डकी-८ ढोरफिर्दीस्थित गाउँ फर्कोदय माविको जग्गाबाट ढुंगा गिट्टी उत्खनन् गर्ने सम्बन्धमा भएको निर्णय नै परिवर्तन भएको खुलेको हो ।

    नगर कार्यपालिकाको बैठकको निर्णय नम्बर ५ मा ‘शुक्लागण्डकी नगरपालिका वडा नं. ८ स्थित गाउफर्कोदय माध्यामिक विद्यालयको खेलमैदानलाई प्रदेशस्तरीय क्रिकेट रंगशाला निर्माणका लागि गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट साझेदारी शिर्षकमा विनियोजित रकम रु ४० लाख र नगरपालिकामा नगर रंगशालाका लागि विनियोजन गरिएको रकमबाट रु ४० लाख गरी हुन आउने रकम रु ८० लाखबाट प्राविधिक लगत इष्टमेटवमोजिम उपभोक्ता समितिमार्फत नियमानुसार योजना प्रक्रिया अघि बढाउने। साथै स्विकृत प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (IEE) बमोजिम योजना संचालनका क्रममा सतह मिलान गर्दा निस्कने सामाग्री सोहि मैदानको परिषरमा घाटगद्धी गरी राख्ने।’ निर्णय भएको थियो ।

    यो प्रकरणमा अख्तियारमा समेत मुद्धा परेको छ । तर पछि नगर कार्यपालिका बैठकबाट भइसकेको निर्णय नै परिवर्तन भएको छ ।

    पछिल्लो निर्णयमा यस्तो छ – ‘ शुक्लागण्डकी नगरपालिका वडा नं. ८ स्थित गाउफर्कोदय माध्यामिक विद्यालयको स्वामित्वमा रहेको खेलमैदानलाई प्रदेशस्तरीय क्रिकेट रंगशाला निर्माणका लागि गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट साझेदारी शिर्षकमा विनियोजित रकम रु ४० लाख र नगरपालिकामा नगर रंगशालाका लागि विनियोजन गरिएको रकमबाट रु ४० लाख गरी हुन आउने रकम रु ८० लाखबाट प्राविधिक लगत इष्टमेटबमोजिम उपभोक्ता समितिमार्फत नियमानुसार योजना प्रक्रिया अघि बढाउने। साथै स्विकृत प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (IEE) बमोजिम योजना संचालनका क्रममा सतह मिलान गर्दा निस्कने २१९९७.९ घनमिटर सामाग्रीको निजी जग्गाको ढुंगा गिटि बालुवा माटो उत्खनन संकलन तथा ढुवानी व्यवस्थित गर्ने कार्यविधि, २०७७ (पहिलो संशोधन) बमोजिम गण्डकी प्रदेश सरकारले तोकेको राजश्व नगरपालिका कार्यालयमा दाखिला गरी सामाग्री व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी श्री गाउफर्कोदय माध्यामिक विद्यालय लाई प्रदान गर्ने।’

    नगर कार्यपालिकाको निर्णय विवादित भएपछि भइसकेको निर्णय नै एकाएक परिवर्तन गरिनु कानून सम्मत नभएको सुशासन र समृद्ध शुक्लागण्डकी निर्माणका लागि युवा अभियानका संयोजक शंकर पन्तले बताए । उनले भने,’यहॉ एमालेको बहुमत छ । यत्रो निर्णय परिवर्तन हुँदा उहॉहरुले एक शब्द बोल्नुभएन । उहॉहरुको भागबण्डा मिलेकै त होला ।’

    नगरपालिकामा एकल बहुमत रहेको एमालेको कमजोरीका कारण यहॉ बेथिति र विसंगति मौलाएको उनको आरोप छ ।

    यता शुक्लागण्डकी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले निर्णय परिवर्तन नभएको बताए । यस सम्बन्धमा अख्तियारमा उजुरी परेको र नगरपालिका तर्फबाट जवाफ पठाइसकिएको जानकारी दिए ।