आन्तरिक पर्यटक आकर्षित गर्न छुट प्याकेज ल्याउँदै होटल व्यवसायी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    आन्तरिक पर्यटक आकर्षित गर्न छुट प्याकेज ल्याउँदै होटल व्यवसायी

    खबरपुञ्ज संवाददाता

    १६ श्रावण २०७७, शनिबार

    तनहुँ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा होटल सञ्चालन गरेका व्यवसायीहरुले पर्यटक आकर्षित गर्न छुट प्याकेज ल्याउने तयारी गरेका छन् । कोभिड–१९ को जोखिमका कारण चार महीनादेखि बन्द रहेका यहाँका होटल सञ्चालन गर्ने तयारी गरिएसँगै व्यवसायीहरुले पर्यटक आकर्षण गर्ने प्याकेज ल्याउने तयारी गरेका हुन् ।

    बन्दाबन्दीले पर्यटकीय गतिविधि ठप्प भएको बन्दीपुरमा आन्तरिक पर्यटकलाई लक्षित गरी विशेष कार्यक्रम ल्याइने क्षेत्रीय होटल सङ्घ बन्दीपुरका अध्यक्ष बिपीन प्रधानले जानकारी दिनुभयो । “हवाइ उडान खुल्ला नभइसकेको र कोभिड–१९ को जोखिम कायमै रहेको अवस्थामा तत्काल विदेशी पर्यटक आउने सम्भावना छैन, हामीले आन्तरिक पर्यटकलाई लक्षित गरी केही प्याकेज ल्याउने तयारी गरेका छौ,” प्रधानले भन्नुभयो ।

    प्रधानका अनुसार आन्तरिक पर्यटकलाई सरल, सुलभ र सहज तरिकाले सेवा दिनका लागि छुट प्याकेजका कार्यक्रम ल्याउन होटल व्यवसायीहरुसँग छलफल भइरहेको जानकारी दिनुभयो । “कोरोना कहरले थला परेको बन्दीपुरको पर्यटनलाई गतिशिल बनाउन पनि आन्तरिक पर्यटक आकर्षित गर्नुको विकल्प छैन,” उहाँले भन्नुभयो, “त्यसका लागि सबै होटल व्यवसायीहरुसँग छलफल भइरहेको छ, छुट सहितको प्याकेज सहित होटल सञ्चालनको तयारीमा छौ ।”

    सरकारले बिहीबारदेखि होटल सञ्चालनको अनुमति दिएपनि बन्दीपुरमा सबै होटलहरु सञ्चालनमा नआइसकेको प्रधानले बताउनुभयो । “कोरोनाको जोखिम कायमै रहेकाले इच्छुक व्यवसायीलाई स्वास्थ्यको मापदण्ड पूरा गरेर होटल सञ्चालन गर्न अनुरोध गरेका छौ,” उहाँले भन्नुभयो, “केही होटल सञ्चालनमा आएका छन् ।” होटल सञ्चालन गर्दा सबै होटलले अनिवार्यरुपमा कोभिड–१९ सम्बन्धी आवश्यक जानकारी सूचना टाँस गर्ने, सम्पूर्ण पर्यटकको ज्वरो जाँच, हातधुने र स्यानीटाइजरको व्यवस्था गर्न अनुरोध गरिएको प्रधानले जानकारी दिनुभयो ।

    प्रधानले होटलमा रहेका कुल कोठाको पचास प्रतिशत कोठा प्रयोग गरेर पर्यटक राख्न अनुरोध गरिएको जानकारी दिनुभयो । “सबै कोठामा एकैपटक पर्यटक नराखी क्षमताको आधामा राख्ने र अर्को दिन बाँकी रहेका कोठाहरुमा पर्यटक राखेर सावधानी अपनाउन भनेका छौ,” प्रधानले भन्नुभयो ।
    होटल दरबार हिमालयका सञ्चालक वैश गुरुङले चार महीनादेखि बन्द रहेका होटल सरसफाई गरेर सञ्चालनको तयारी थालिएको जानकारी दिनुभयो । “स्वास्थ्यको मापदण्ड पूरा गर्नका लागि स्वास्थ्य सामग्री व्यवस्थापन, होटल सरसफाईमा जुटेका छौ,” गुरुङले भन्नुभयो ।

    गुरुङले पनि पर्यटकलाई लक्षित गरी छुट प्याकेजको कार्यक्रम ल्याउनैपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो । “होटल सङ्घसँग यो विषयमा छलफल गरेका छौ, सबै व्यवसायी सकारात्मक छन्,” गुरुङले भन्नुभयो । सरकारले बन्दाबन्दी अन्त्य भएको घोषणा गरिसकेकाले विस्तारै अब आन्तरिक पर्यटकको बन्दीपुरमा चहलपहल बढ्ने उहाँले बताउनुभयो । “बन्दाबन्दी अन्त्य भएपनि कोरोनाको जोखिम अन्त्य भएको छैन, सबै सुरक्षा सावधानी अपनाएर होटल सञ्चालन गर्छौ,” उहाँले भन्नुभयो ।

    बन्दीपुरमा होटल सङ्घसँग आबद्ध साना ठूला गरी ७७ होटल सञ्चालनमा छन् । बन्दीपुरमा ग्रिनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, वोल्डईन, बन्दीपुर माउण्टेन रिसोर्ट, बन्दिपुर प्यालेस, मगर भिजेल लगायत होटल सञ्चालन छ । बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छे«, धौलागिरी लगायतका हिमश्रृङ्खला देखिन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीबन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायतका स्थलहरु यहाँ आउने पर्यटकहरुको आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ ।