११ दिनपछि सञ्चालनमा आयो बुद्धसिंह मार्ग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ११ दिनपछि सञ्चालनमा आयो बुद्धसिंह मार्ग

    खबरपुञ्ज संवाददाता

    २ भाद्र २०८१, सोमबार

    दमाैली । पहिरोका कारण एघार दिनदेखि अवरुद्ध तनहुँको बुद्धसिंह मार्ग पुनः सञ्चालनमा आएको छ । तनहुँको बन्दीपुर गाउँपालिकाअन्तर्गतका विभिन्न ठाउँमा पहिरो खस्दा बुद्धसिंह मार्ग पूर्ण रुपमा अवरुद्ध भएको थियो ।

    तल्लो सेती जलविद्युत् आयोजनाको सहयोगमा बुद्धसिंह मार्गका विभिन्न ठाउँको पहिरो हटाइएको बन्दीपुर गाउँपालिका–६ निवासी सिद्धान्त गर्जामगरले जानकारी दिए । उनका अनुसार नाल्दीघाट, ढाप, खानीखोला, साराङघाट, पिउघरमा खसेको पहिरा पन्छाइएको छ । गर्जामगरले भने, “पटकपटक सडक डिभिजन कार्यालय, पूर्वाधार विकास कार्यालय, बन्दीपुर गाउँपालिकालाई अनुरोध गर्दा उहाँहरूले चासो दिनुभएन । तल्लो सेती जलविद्युत् आयोजनालाई आग्रह गरेपछि उहाँहरूले डोजर उपलब्ध गराइदिनुभएको थियो । आइतबारदेखि पहिरा हटाउन सुरु गरेका थियौँ ।”

    पहिराले ११ दिनदेखि बाटो अवरुद्ध हुँदा यस भेगका सर्वसाधारणले निकै सास्ती भोग्नु परेको गर्जामगरले बताए। बन्दीपुर गाउँपालिका–६ खानीखोलामा पहिरोले बाटो अवरुद्ध हुँदा र खोला बढेर विद्यार्थीलाई विद्यालयसम्म आवतजावत गर्न सास्ती भएको छ । उनले भने, “यहाँ पुलको आवश्यकता छ, तर सरोकारवाला यस विषयमा संवेदनशील छैन ।”

    गण्डकी प्रदेशको गौरवको आयोजनाका रूपमा रहेको बुद्धसिंह मार्गले तनहुँको सदरमुकाम दमौली र चितवनको घुमाउने जोड्छ । उक्त सडक हुँदै बन्दीपुर, देवघाट र आँबुखैरेनी गाउँपालिका केही वडाका हजारौँ नागरिकले यही मार्ग प्रयोग गर्दै आएका छन् ।

    गण्डकी प्रदेशलाई चितवन र तराईका अन्य जिल्लासँग जोड्ने सबैभन्दा छोटो दूरीको वैकल्पिक सडकका रूपमा उक्त सडकलाई लिने गरिएको छ । उक्त बुद्धसिंह मार्गलाई मुग्लिन–नारायणगढ सडकसँग जोड्ने चितवनको घुमाउनेमा पक्कीपुल निर्माणाधीन अवस्थामा छ । सो पुलको निर्माण सम्पन्नपश्चात् बाटो छोटिन्छ । पुल निर्माणपछि सो सडक हुँदै यात्रा गर्दा हाल सञ्चालनमा रहेको पृथ्वीराजमार्गको मुग्लिन हुँदै नारायणगढ जानुभन्दा करिब २५ किलोमिटर छोटो पर्छ ।