दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको घाँसीकुवा–डुम्रे सडकखण्ड २४ घण्टापछि सुचारु भएको छ । व्यास नगरपालिका–१२ घाँसीकुवामा बुधबार साँझ ५ बजे गएको पहिरा बिहीबार साँझ ५ः४० बजे हटाइएपछि उक्त खण्ड एकतर्फी सञ्चालनमा आएको हो ।
सडकमाथिको डाँडा खसेर उक्त खण्ड अवरुद्ध भएकामा आज बिहान ८ बजेदेखि पहिरा हटाउने काम सुरु गरिएको थियो । निर्माणाधीन मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड)को सहयोगमा पहिरा हटाएर राजमार्ग पुनः सुचारु गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए । दुईतर्फी बाटो सुचारु गराउनका लागि काम भइरहेको उनले बताए ।
निर्माणाधीन मुग्लिन पोखरा सडक विस्तारका क्रममा डाँडा खार्ने काम हुँदा यो क्षेत्रमा पहिराको जोखिम रहँदै आएको छ । पहिराका कारण लामो समयसम्म सडक अवरुद्ध हुँदा यो सडक प्रयोग गर्ने सर्वसाधारणलाई सास्ती भएको थियो ।
पृथ्वीराजमार्ग भएर यात्रा गर्नेलाई दमौली हुँदै घाँसीकुवा निस्कन तालघरे, दरैपधेंरा हुँदै घाँसीकुवाको बाटो प्रयोग गराइएको थियो ।