‘दारी ग्याङ’ समूहले उत्पादन गरेको सयपत्री पोखरामा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ‘दारी ग्याङ’ समूहले उत्पादन गरेको सयपत्री पोखरामा

    खबरपुञ्ज संवाददाता

    १४ कार्तिक २०८१, बिहीबार

    दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित ‘दारी ग्याङ’ समूहमा आबद्ध युवाहरुले उत्पादन गरेको सयपत्री पोखरामा विक्री गरिएको छ । समूहले यसै वर्षदेखि सुरु गरेको सयपत्री फूलखेतीले उत्पादन दिन थालेपछि तिहारलाई लक्षित गरी पहिलो चरणमा एक सय केजी सयपत्री पोखरा विक्री गरिएको हो ।

    तिहारमा भारतबाट फूल आयात गर्नुपर्ने अवस्थाको अन्त्यका लागि समूहमा आबद्ध चार जना युवाले आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुरमा सयपत्री फूल खेती गरेको मनोज बास्तोलाले राससलाई जानकारी दिए।

    दारी ग्याङमा आबद्ध बास्तोला सहित अमृत पण्डित, शैलेश वाग्ले र दिवस घिमिरेले पाँच रोपनी क्षेत्रफलमा फूलखेती गरेका छन् । समूहमै आबद्ध वाग्लेको जग्गामा फूलखेती गरिएको र फूल उत्पादन हुन थालेको बास्तोलाको भनाइ छ ।

    उनले भने, “पहिलो चरणमा एक सय किलो प्रति किलो रु तीन सय ५० का दरले फूल विक्री गरिएको छ । बारीमा अझै फूलहरु ढकमक्क फुलेका छन् । त्यसको पनि विक्रीको तयारी गर्दैछौ ।” यहाँ छ हजार बेर्ना रोपिएको थियो ।

    आँबुखैरेनी गाउँपालिकाले सयपत्री फूलखेतीलाई प्रोत्साहन गरेपछि आफूहरु यसमा आकर्षित भएको समूहमा आबद्ध अमृत पण्डितले जानकारी दिए। उनले भने “गाउँपालिकाले सयपत्री फूलखेतीलाई प्रोत्साहन गरेको छ । यहाँ उत्पादित सयपत्री गाउँपालिकाले आफ्नै कार्यक्रममा समेत प्रयोग गर्न थालेको छ । गाउँपालिकाले बजारीकरणको व्यवस्था समेत गरिदिएको छ ।”