


तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु बजारमा म्याग्दे पोलिक्लिनिक सञ्चालनमा आएको छ । यस ठाउँका सर्वसाधारणलाई सरल र सहज रुपमा स्वास्थ्य सेवा दिने उद्देश्य सहित सञ्चालनमा आएको पोलिक्लिनिकको शनिबार म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले उद्घाटन गर्नुभयो ।
सो क्रममा गाउँपालिकाका अध्यक्ष रानाले यस क्षेत्रको आवश्यकतालाई ख्याल गरी सर्वसाधारणलाई सेवा दिने उद्देश्यले खोलिएको पोलिक्लिनिक गाउँपालिकाकै स्वास्थ्य सेवाको नमूना एवं उदाहरण बन्न सक्नुपर्नेमा जोड दिनुभयो ।

जेष्ठ नागरिक मानबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिला, वडाध्यक्ष प्रेमबहादुर थापा, रेडक्रस सोसाइटी तनहुँ शाखाका सभापति कृष्णहरि वाग्ले, म्याग्दे सहकारी संस्थाका हरिबहादुर थापा, उद्योग वाणिज्य सङ्घ थर्पु बजार इकाई सभापति भीमलाल श्रेष्ठ, थर्पु बजार खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष शेरकुमार मल्ल लगायतले पोलिक्लिनिकले सरल र सहज ढङ्गबाट सर्वसाधारणलाई सेवा दिनुपर्ने बताउनुभयो ।

पोलिक्लिनिकमा दिपकुमार श्रेष्ठ, डा.प्रदीप थापा, डा.विवेक श्रेष्ठ, डा.निसिकान्त यादव, ल्याब टेक्निसियन आनन्दप्रसाद ढुङ्गाना संस्थापक सदस्य हुनुहुन्छ । पोलिक्लिनिकका संस्थापक सदस्य तथा परिकल्पनाकार डा. प्रदीप थापाले आफ्नै जन्मभूमिमा सेवा दिन पाउँदा खुशी लागेको बताउनुभयो ।
उहाँका अनुसार पोलिक्लिनिकबाट चौबिसै घण्टा डाक्टरबाट इमर्जेन्सी सेवा, प्रयोगशाला, एक्सरे सेवा, फार्मेसी सेवा, भिडियो एक्सरे सेवा, बहिरङ्ग सेवा, स्वास्थ्य परीक्षण प्रवाह गरिनेछ । पोलिक्लिनिक सञ्चालनको अवसरमा शनिबार ८० जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको र आइतबार पनि निःशुल्क स्वास्थ्य परीक्षण सेवा दिइने संस्थापक सदस्य डा. निसिकान्त यादवले जानकारी दिनुभयो ।
