दमाैली । तनहुँको सदरमुकाम दमौलीमा बुधबारदेखि अन्तर विद्यालय स्तरीय बास्केटबल प्रतियोगिता सुरु भएको छ । हैरान्स क्लव दमौलीले व्यास नगरपालिका–३ मा तेस्रोे अन्तर विद्यालय स्तरीय छात्रछात्रा बास्केटबल प्रतियोगिता आयोजना गरेको हो ।
बास्केटबल खेलमा युवायुवतीको आकर्षण बढाउने उद्धेश्यले क्लवले प्रतियोगिता आयोजना गरेको हो । दमौलीमा केही वर्षयता बास्केटबल खेलमा आकर्षण बढेकाले दक्ष खेलाडी उत्पादनका लागि प्रतियोगिताले सहयोग पुग्ने विश्वास गरिएको क्लवका सचिव उज्वल भट्टराईले जानकारी दिए।
प्रतियोगितामा छात्रतर्फ नौ र छात्रातर्फ चार विद्यालयको सहभागिता रहेको छ । छात्रतर्फ सत्यवती मावि, व्यास बोर्डिङ, कन्काइ ग्लोबल एकेडेमी, निमल मावि, माया एकेडेमी, गोरखकाली बोर्डिङ, बाराही बोर्डिङ, मस्र्याङ्दी बोर्डिङ र पराशर कलेजको सहभागिता रहेको छ । छात्रातर्फ सत्यवती मावि, पराशर कलेज, निर्मल मावि र बाराही कलेजको सहभागिता रहेको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सबै क्षेत्रको खेलको विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको बताए।